नेपालकै पहिलो सडक सुरुङमार्गमा ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ सम्पन्न
काठमाडौं। काठमाडौंको नागढुंगा र धादिङको सिस्नेखोला जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्गमा शनिबार ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ कार्यक्रम सम्पन्न भएको छ।
सुरुङमार्ग सञ्चालनमा आउनुअघि आयोजना गरिएको कार्यक्रममा सर्वसाधारण, खेलाडी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले सुरुङभित्र दौड र पदयात्रा गर्दै नेपालकै पहिलो सडक सुरुङमार्गको प्रत्यक्ष अनुभव लिएका थिए।
आयोजकका अनुसार कार्यक्रमको उद्देश्य सुरुङमार्गको प्रवर्द्धन गर्नुका साथै यसको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु हो। कार्यक्रमका क्रममा सहभागीहरूले सुरुङभित्रको संरचना, सुरक्षा व्यवस्था र पूर्वाधारको अवलोकन गरेका थिए।
काठमाडौं उपत्यकाको प्रवेशद्वार मानिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं-धादिङ आवतजावत सहज हुने, यात्रा समय घट्ने तथा नागढुंगाको लामो ट्राफिक जामको समस्या कम हुने अपेक्षा गरिएको छ।















