`

तेस्रो स्थानको लागि भिड्दै फ्रान्स र इंग्ल्याण्ड, एम्बाप्पेको नजर गोल्डेन बुटमा

Nepal One HD २ साउन २०८३ १६:१५
खेलकुद

काठमाडाैं। विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि फ्रान्स र इङ्ल्यान्डबीच आइतबार बिहान रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बिहान २:४५ बजे सुरु हुने खेलमा दुवै टोली हारको पीडा बिर्सँदै जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछन्।

उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएको फ्रान्स सेमिफाइनलमा स्पेनसँग २-० ले पराजित भएको थियो। यता इङ्ल्यान्ड भने अर्जेन्टिनासँग अन्तिम क्षणमा २-१ ले पराजित हुँदै करिब ६ दशक लामो ठूलो अन्तर्राष्ट्रिय उपाधिको प्रतीक्षा फेरि लम्ब्याउन बाध्य बन्यो। अब दुवै टोलीको लक्ष्य कम्तीमा कांस्य पदक जितेर विश्वकप यात्रा टुंग्याउने रहेको छ।

डेसच्याम्प्सको फ्रान्ससँग अन्तिम खेल

यो खेल फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सका लागि विशेष हुनेछ। राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा उनको यो अन्तिम खेल हो।

समूह चरणकै क्रममा आमाको निधनको पीडा बेहोरेका डेसच्याम्प्सले १४ वर्षसम्म फ्रान्सको नेतृत्व गर्दै आधुनिक फुटबलका सफल प्रशिक्षकमध्ये आफूलाई स्थापित गरेका छन्। उनले सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाएका थिए भने २०२२ मा टोलीलाई फाइनल र २०२६ मा सेमिफाइनलसम्म पुर्‍याएका छन्। ५७ वर्षीय डेसच्याम्प्स आफ्नो सफल यात्राको अन्त्य जितका साथ गर्न चाहन्छन्।

एम्बाप्पेको लक्ष्य गोल्डेन बुट

फ्रान्सका कप्तान केलियन एम्बाप्पेका लागि यो खेल व्यक्तिगत रूपमा पनि निकै महत्वपूर्ण छ। गोल्डेन बुटको दौडमा उनी अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीसँग कडा प्रतिस्पर्धामा छन्।

मेस्सीले हालसम्म ८ गोल र ४ असिस्ट गरेका छन् भने एम्बाप्पेको नाममा ८ गोल र ३ असिस्ट छ। असिस्टका आधारमा मात्र मेस्सी अगाडि रहेका छन्।

यदि एम्बाप्पेले इङ्ल्यान्डविरुद्ध गोल गर्दै मेस्सीलाई उछिने भने उनी दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन्। साथै, विश्वकपमा मेस्सीको २१ गोलको कीर्तिमान बराबरी गर्न पनि उनी केवल एक गोल टाढा छन्।

‘तेस्रो स्थान हाम्रो लक्ष्य थिएन’ : टुचेल

इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले तेस्रो स्थानको खेल कुनै पनि टोलीको चाहना नहुने बताएका छन्।

उनले भने, ‘हाम्रा खेलाडी र फ्रान्सका खेलाडीमध्ये कसैले पनि यो खेल खेल्न चाहेका थिएनन्। सबैको सपना फाइनल खेल्ने थियो।’

फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले पनि त्यसमा सहमति जनाउँदै भने, ‘हामी जहाँ पुग्न चाहन्थ्यौँ, त्यहाँ पुग्न सकेनौँ। निराशा ठूलो छ, तर अब त्यसलाई स्वीकार्दै अन्तिम खेलमा राम्रो प्रदर्शन गर्नुपर्छ।’

दुवै टोलीको विश्वकप यात्रा

फ्रान्सले समूह चरणमा सेनेगललाई ३-१, इराकलाई ३-० र नर्वेलाई ४-१ ले हराउँदै शतप्रतिशत जित निकालेको थियो। त्यसपछि नकआउट चरणमा स्विडेनलाई ३-०, पाराग्वेलाई १-० र मोरक्कोलाई २-० ले पराजित गर्दै सेमिफाइनल पुगेको फ्रान्स स्पेनसँग २-० ले पराजित भएको थियो।

इङ्ल्यान्डले भने समूह चरणमा क्रोएसियालाई ४-२ ले हराउँदा घानासँग गोलरहित बराबरी खेलेको थियो। पानामालाई २-० ले हराएर नकआउट चरण पुगेको इङ्ल्यान्डले त्यसपछि कङ्गोलाई २-१, मेक्सिकोलाई ३-२ र नर्वेलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। तर सेमिफाइनलमा अर्जेन्टिनासँग २-१ ले हार बेहोर्नुपर्‍यो।

सुपरकम्प्युटरको अनुमान

अप्टा सुपरकम्प्युटरले २५ हजार सिमुलेसनका आधारमा फ्रान्सलाई खेलको प्रमुख दाबेदार मानेको छ। उसका अनुसार फ्रान्सको जित्ने सम्भावना ५०.७ प्रतिशत रहेको छ। इङ्ल्यान्डको जित्ने सम्भावना २५.६ प्रतिशत र खेल बराबरी हुने सम्भावना २३.७ प्रतिशत रहेको बताइएको छ।

हेड-टु-हेडमा कसको पलडा भारी?

विश्वकपमा भएका भेटमा इङ्ल्यान्डले सुरुआती दुई खेल जितेको थियो। सन् १९६६ मा इङ्ल्यान्ड २-० ले विजयी भएको थियो भने १९८२ मा पनि ३-१ को जित निकालेको थियो। पछिल्लो भेट भने २०२२ को विश्वकपमा भएको थियो, जहाँ फ्रान्स २-१ ले विजयी बनेको थियो।

समग्र अन्तर्राष्ट्रिय भेटमा भने फ्रान्सको पलडा भारी छ। पछिल्ला ९ भेटमध्ये फ्रान्सले ६ खेल जितेको छ, इङ्ल्यान्डले एक खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्।

सम्भावित रणनीति

उपाधिको दौड समाप्त भइसकेकाले दुवै टोलीले केही नयाँ खेलाडीलाई अवसर दिन सक्ने सम्भावना छ। तर गोल्डेन बुटको प्रतिस्पर्धाका कारण एम्बाप्पे सुरुदेखि नै मैदानमा उत्रने अपेक्षा गरिएको छ।

इङ्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान ६-६ गोल गरेका छन्। दुवैले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुटको प्रतिस्पर्धालाई अन्तिमसम्म रोचक बनाउने प्रयास गर्नेछन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *