`

रेशम-रञ्जिता घर झगडा सामाजिक सञ्जालमा

Nepal One HD २ साउन २०८३ १६:३५
भिडियो

काठमाडौं । पूर्वसांसद रेशम चौधरी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ (चौधरी)बीच फेरि सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। सामाजिक सञ्जालमार्फत दुवैले एकअर्कालाई लक्षित गर्दै टिप्पणी गरेपछि उनीहरूबीचको राजनीतिक तथा व्यक्तिगत विवाद पुनः चर्चामा आएको हो।

विवादको सुरुआत रञ्जिता श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै गरेकी थिइन्। उनले आफ्नै संगठनभित्र अस्थिरता सिर्जना गर्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै टिप्पणी गरेकी हुन्। रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेटघाट गरेपछि रञ्जिताले उक्त अभिव्यक्ति सार्वजनिक गरेकी थिइन्।

रञ्जिताले आफ्नो स्टाटसमा ‘आफ्नै घरमा आगो लगाउनेले छिमेकीको घर जोगाउँछु भन्नु हास्यास्पद’ भएको उल्लेख गर्दै विगतमा पार्टीभित्र विशेष राष्ट्रिय भेला गराउने, अध्यक्ष हटाउने अभियान चलाउने तथा संसदीय दलको नेतृत्वलाई विवादमा तान्ने गतिविधि भएको आरोप लगाएकी छन्।

 

उनले कुनै प्रदेशमा आफ्नै दलको प्रतिनिधित्वसमेत नरहेको अवस्थामा अन्य दलका सांसदहरू बोलाएर सरकारको भविष्य निर्धारण गर्ने दाबी गर्नु राजनीतिक प्रभाव नभई प्रभावको भ्रम मात्र भएको टिप्पणी पनि गरेकी छन्।

रञ्जिताको स्टाटस सार्वजनिक भएको केही समयपछि रेशम चौधरीले पनि फेसबुकमार्फत जवाफ दिएका छन्। उनले आफूलाई लक्षित गर्दै हैसियत बनाइदिने व्यक्तिलाई नै समाप्त पार्ने प्रयास गर्नेहरू कहिल्यै कसैका हुन नसक्ने टिप्पणी गरेका छन्।

रेशमले घरमा भ्वाङ आफूले नपारेको दाबी गर्दै ‘आफैंले भित्तामा भ्वाङ पारेर अर्काको घर ताक्नेले बहुलट्ठीपन प्रदर्शन गरिरहेको’ आरोप लगाएका छन्।

 

रेशम र रञ्जिताबीचको लामो समयदेखिको विवादले नागरिक उन्मुक्ति पार्टीमा समेत गम्भीर असर पारेको छ। लगातारको मतभेदपछि रञ्जिता श्रेष्ठ नेकपा (माओवादी केन्द्र)मा समाहित भइसकेकी छन् भने रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीमै सक्रिय छन्।

२०७९ सालको निर्वाचनपछि पश्चिम तराईको राजनीतिमा उदाएको नागरिक उन्मुक्ति पार्टी पछिल्ला वर्षहरूमा लगातार कमजोर बन्दै गएको छ। गत वर्ष फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले देशभर एक पनि सिट जित्न नसकेपछि यसको राजनीतिक प्रभाव उल्लेखनीय रूपमा घटेको विश्लेषण भइरहेको छ।

थारु समुदायका केही अगुवाहरूले पनि पार्टीको कमजोर अवस्थाका लागि रेशम र रञ्जिताबीचको आन्तरिक विवाद तथा सार्वजनिक आरोप–प्रत्यारोपलाई प्रमुख कारणका रूपमा औंल्याउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *