साकाको ह्याट्रिक, फ्रान्सलाई हराउदै इंग्ल्यान्ड बन्यो तेस्रो
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा इङ्गल्यान्डले फ्रान्सलाई ६–४ गोलले पराजित गर्दै प्रतियोगिता तेस्रो स्थानमा टुंग्याएको छ।
अमेरिकाको मियामी स्टेडियममा भएको रोमाञ्चक खेलमा इङ्गल्यान्डले पहिलो हाफमै आक्रामक प्रदर्शन गर्दै ४–० को बलियो अग्रता बनाएको थियो।
डेक्लान राइसले पेनाल्टी क्षेत्र बाहिरबाट आकर्षक गोल गर्दै इङ्गल्यान्डलाई सुरुआती अग्रता दिलाए। त्यसपछि एज्री कोन्साले दोस्रो गोल थपे भने बुकायो साकाले लगातार दुई गोल गर्दै पहिलो हाफमै टोलीलाई ४–० को आरामदायी अवस्थामा पुर्याए।
दोस्रो हाफमा भने फ्रान्सले सशक्त पुनरागमनको प्रयास गर्यो। माइकल ओलिसेको पासमा किलियन एमबाप्पेले पहिलो गोल फर्काए। त्यसपछि एमबाप्पेकै पासमा ब्राड्ली बार्कोलाले गोल गर्दै अन्तर ४–२ मा झारे।
एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४–३ को नजिक पुर्याए। त्यसपछि इङ्गल्यान्डमाथि दबाब बढिरहेका बेला साकाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीलाई ५–३ को अग्रता दिलाए।
फ्रान्सका लागि ओस्मान डेम्बेलेले अर्को गोल गरे पनि खेलको अन्त्यतिर जुड बेलिङ्घमले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै निर्णायक गोल गरेपछि इङ्गल्यान्डले ६–४ को शानदार जित हात पार्यो।
यो जितसँगै इङ्गल्यान्डले सन् १९६६ मा घरेलु मैदानमा विश्वकप जितेपछि विश्वकप इतिहासकै उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिता तेस्रो स्थानमा समाप्त गरेको छ।
