`

धेरै काम एकैपटक नगर्न सरकारलाई बाबुरामको सुझाव, सुशासनमै जोड

Nepal One HD ३ साउन २०८३ ८:४२
राजनीति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई एकैपटक धेरै विषयमा केन्द्रित नहुन आग्रह गर्दै सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।

संविधानको धारा २४५ संशोधनबारे कार्यदलले दिएको सुझावको सन्दर्भ उल्लेख गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारलाई मुख्य एजेन्डामै केन्द्रित हुन आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन। ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ।’

भट्टराईले जनअपेक्षासहित गठन भएको वर्तमान सरकारले धेरै क्षेत्रमा एकैसाथ हस्तक्षेप गर्नुभन्दा अहिले देशको प्रमुख आवश्यकता रहेका सुशासन र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।

उनका अनुसार सरकारले विशेषगरी देशभित्रै वार्षिक ८ देखि १० लाख उत्पादनमूलक रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नीति र कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता छ।

‘जेनजी विद्रोहको पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित सत्तामा आएको नयाँ सरकारले अहिले सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउँदा राम्रो हुन्छ। त्यसमध्ये पनि देशभित्रै वार्षिक ८ देखि १० लाख उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ, त्यही गर्दा राम्रो होला,’ उनले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *