एक रुपैयाँको सिक्काको डिजाइन फेरियो, चुच्चे नक्सा हटेपछि राजनीतिक विवाद
मन्त्रिपरिषद्को असार ३२ गते बसेको बैठकले एक रुपैयाँको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्ने निर्णय गरेको हो। नयाँ डिजाइनअनुसार सिक्कामा हाल प्रयोग हुँदै आएको नेपालको नक्साको सट्टा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भ र गुम्बाको तस्बिर राख्ने व्यवस्था गरिएको सरकारको निर्णयमा उल्लेख छ।
यस निर्णयपछि पूर्वउपप्रधानमन्त्री तथा पूर्वसांसद भीम रावलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्। उनले यदि नयाँ सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाइएको हो भने त्यसलाई नेपालको भौगोलिक अखण्डताविरुद्धको गम्भीर निर्णयका रूपमा लिनुपर्ने बताएका छन्।
रावलले प्रधानमन्त्री बालेन शाहले यसअघि संसदमा दिएको अभिव्यक्तिको सन्दर्भ उल्लेख गर्दै उक्त निर्णयप्रति आपत्ति जनाएका हुन्। उनले सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।
यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आलोचना गर्दै आएका छन्। उनीहरूले उक्त अभिव्यक्तिका लागि प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।
सरकारले भने एक रुपैयाँको सिक्काको डिजाइन परिवर्तनबारे औपचारिक रूपमा सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई प्राथमिकता दिने उद्देश्य रहेको जनाएको छ। नयाँ डिजाइनमा नेपालको नक्सा हटाउने निर्णयको कारणबारे भने सरकारले छुट्टै व्याख्या गरेको छैन।
