विदेशी राजदूतसँग ‘वान टु वान’ वार्ता गर्ने बालेनको तयारी
काठमाडौं। विदेशी कूटनीतिक प्रतिनिधिसँग पर्याप्त संवाद नगरेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तयारी थालेका छन्।
प्रधानमन्त्रीको सचिवालयले भेटघाटका लागि समयतालिका तयार पार्ने काम अघि बढाएको जनाएको हो।
स्रोतका अनुसार पहिलो चरणमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट गर्ने तयारी छ। भेटको मिति भने अझै तय भइसकेको छैन। त्यसपछि अन्य मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग पनि क्रमशः संवाद गर्ने योजना बनाइएको बताइएको छ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि विदेशी कूटनीतिक प्रतिनिधिसँग सीमित मात्र भेटवार्ता गरेको भन्दै पछिल्ला महिनाहरूमा विभिन्न तहबाट प्रश्न उठ्दै आएका थिए।
प्रधानमन्त्री नियुक्त भएपछि उनले एकपटक विभिन्न देशका राजदूतसँग सामूहिक भेट गरेका थिए। उक्त अवसरमा राजदूतहरूले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए भने परराष्ट्र मन्त्रालयले नेपालको परराष्ट्र नीतिबारे जानकारी गराएको थियो।
त्यसपछि युरोपेली संघका सदस्य राष्ट्रका नेपालस्थित तथा गैरआवासीय राजदूतसँग पनि प्रधानमन्त्रीले संयुक्त भेट गरेका थिए। त्यो भेट वार्षिक कूटनीतिक कार्यक्रमका क्रममा नेपाल आएका युरोपेली प्रतिनिधिहरूको आग्रहपछि आयोजना गरिएको थियो।
तर त्यसयता नेपाल भ्रमणमा आएका विभिन्न मुलुकका उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक प्रतिनिधिसँग प्रधानमन्त्रीको प्रत्यक्ष भेट हुन सकेको थिएन। विशेषगरी अमेरिका र चीनबाट भएका उच्चस्तरीय भ्रमणका क्रममा प्रधानमन्त्रीसँग भेट हुन नसकेको विषयलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको थियो।
अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया हेर्ने वरिष्ठ अधिकारी, अमेरिकी प्रशासनका विशेष प्रतिनिधि तथा उच्च कूटनीतिक टोलीले नेपाल भ्रमण गरे पनि उनीहरूको भेट प्रधानमन्त्रीसँग हुन सकेन। यस्तै, चीनबाट आएका उच्च राजनीतिक तथा सरकारी प्रतिनिधिसँग पनि प्रधानमन्त्रीले औपचारिक भेट नगरेको चर्चा भएको थियो।
भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण समेत अन्तिम समयमा स्थगित भएपछि प्रधानमन्त्रीको कूटनीतिक सक्रियताबारे थप प्रश्न उठेको थियो। पछिल्ला दिनमा भारतका उच्च अधिकारी नेपाल आएर अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटेर फर्किए पनि प्रधानमन्त्रीसँग औपचारिक संवाद हुन नसकेको थियो।
यही पृष्ठभूमिमा प्रधानमन्त्रीले अब व्यक्तिगत रूपमा विभिन्न देशका राजदूतसँग भेटघाटलाई प्राथमिकता दिन लागेको बुझिएको छ। कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउने, द्विपक्षीय सहकार्यका विषयमा प्रत्यक्ष संवाद गर्ने तथा नेपालका प्राथमिकता र चासोबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले भेटवार्ता अघि बढाउन लागिएको स्रोतको भनाइ छ।
प्रधानमन्त्रीको यो पहललाई हालसम्म उठिरहेका कूटनीतिक निष्क्रियतासम्बन्धी आलोचनाको जवाफका रूपमा पनि हेरिएको छ।
