मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
जनकपुरधाम । केही वर्षअघिसम्म वर्षात् लाग्नेबित्तिकै फुसको छानो चुहिने, हुरीबतास चल्दा रातभर निद्रा हराउने र आगलागीको त्रासमा दिन बिताउने सिरहा र सप्तरीका एक हजार २०१ विपन्न परिवारका लागि अहिले जीवन नै फेरिएको छ ।
फुसको अस्थायी टहराबाट पक्की घरमा सरेसँगै ती विपन्न परिवारहरूको दैनिक जीवन सुरक्षित, सम्मानित र आशावादी बनेको छ । मधेस प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास, महेन्द्रनारायण निधि विपन्न आवास र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमअन्तर्गत सिरहा र सप्तरीका गरी एक हजार २०१ परिवारले पक्की घर प्राप्त गरेका छन् । दलित, विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने सामाजिक अभियानका रूपमा स्थापित हुँदै गएको छ ।
ती जिल्लाका अधिकांश दलित तथा विपन्न परिवार वर्षौँदेखि फुसको छानो भएको झुपडीमा बस्दै आएका थिए । “वर्षा लागेपछि घरभित्रै पानी चुहिन्थ्यो, गर्मीमा अत्यधिक ताप सहनुपथ्र्यो, आगलागीको जोखिम त झन् सधैँको चिन्ता थियो”, सिरहाको सिरहा नगरपालिका–९ निवासी रशमादेवी राम भन्छन्, “तब पक्की घर पाएपछि अहिले सबै चिन्ताबाट मुक्त भएको अनुभूति भइरहेको छ ।” यो जुनीमा पक्की घरमा सुत्न पाउँछु भन्ने सपना पनि देख्न सकेका थिइनँ, तर पाएकाले असाध्यै खुसी छु, उनको भनाइ छ ।
सरकारको आवास कार्यक्रमअन्तर्गत पक्की घर पाएपछि लाभग्राही परिवारको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ । पूर्वाधार विकास कार्यालय सिरहाका सबइन्जिनियर जीवछकुमार यादवका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि २०८२–८३ सम्म सिरहामा तीनवटा आवास कार्यक्रममार्फत ६१२ परिवार लाभान्वित भएका छन् ।
यसमध्ये जनता आवास कार्यक्रमबाट ५१२, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रमबाट ६९ तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट ३१ परिवारले पक्की घर पाएका छन् । सिरहाको औरही गाउँपालिकामा मात्रै जनता आवास कार्यक्रमअन्तर्गत ४४७ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ । यसले औरही क्षेत्रका विपन्न समुदायको आवासीय अवस्थामा ठूलो सुधार ल्याएको स्थानीयको भनाइ छ ।
यस्तै सप्तरीमा पनि आवास कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । पूर्वाधार विकास कार्यालय सप्तरीका सबइन्जिनियर रामाकर झाका अनुसार जनता आवास कार्यक्रमबाट ५१५, महेन्द्रनारायण निधि विपन्न आवास कार्यक्रमबाट ५६ तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट १८ गरी ५८९ परिवारले नयाँ घर पाएका छन् ।
नयाँ घर पाएसँगै धेरै परिवारले असुरक्षित झुपडी छाडेर सम्मानजनक जीवन सुरु गरेको झाको भनाइ छ । यद्यपि, कार्यक्रम पूर्ण रूपमा सम्पन्न भने भइसकेको छैन । सिरहामा जनता आवास कार्यक्रमअन्तर्गत करिब ४० र महेन्द्रनारायण निधि कार्यक्रमअन्तर्गत २७ घर निर्माणाधीन छन् ।
सप्तरीमा जनता आवास कार्यक्रमअन्तर्गत ७९१ घर निर्माणको सम्झौता भए पनि हालसम्म ५१५ वटामात्रै सम्पन्न भएका छन् । दुई सय ८८ वटा निर्माणाधीन छन् भने ८८ वटा घरको निर्माण अझै सुरु हुन नसकेको प्राविधिक झा बताउछन् ।
उनका अनुसार महेन्द्रनारायण निधि कार्यक्रमअन्तर्गत सम्झौता भएका ९२ घरमध्ये ५६ सम्पन्न, ३४ निर्माणाधीन र पाँचवटाको काम सुरु हुन बाँकी छ । आवास केवल एउटा भवन होइन, यो परिवारको सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्मानसँग जोडिएको आधारभूत आवश्यकता हो ।
पूर्वाधार कार्यालय राजविराज सप्तरीका प्रमुख कृष्णदेव झाले सुरक्षित घर भएपछि बालबालिकाको विद्यालय जाने वातावरण सुधारिएको बताउछन्। उनका अनुसार महिलाहरूले घरभित्र सुरक्षित रूपमा दैनिक काम गर्न पाएका छन भने वृद्धवृद्धा र अशक्त व्यक्तिका लागि पनि पक्की घरले सहज जीवन प्रदान गरेको छ ।
आवास कार्यक्रमले गरिबी न्यूनीकरण, सामाजिक समावेशीकरण र मानव विकास सूचकाङ्क सुधारमा समेत सकारात्मक प्रभाव पारेको प्रमुख झा बताउछन्। प्रमुख झाका अनुसार जग्गा व्यवस्थापनमा कठिनाइ, बजेट अभाव तथा केही प्रशासनिक प्रक्रियाका कारण आवास कार्यक्रम निर्माणकार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।
बर्सेनि निर्माण सामग्रीहरूको बजारभाउ अत्यधिक बढे पनि आवास कार्यक्रमहरूको बजेट बढ्न नसक्दा कार्यक्रम सञ्चालन गर्न चुनौती भइरहेको उनको भनाइ छ ।
