राजेन्द्र लिङ्देनको बेइमानीले राप्रपामा समायोजन भएका नेताको बिचल्ली
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समायोजन हुने दल र नेताहरुले वैधानिकता नपाउने र बिचल्लीमा पर्ने क्रम जारी छ ।
राप्रपामा प्रवेश गराएर राजनीतिकर्मीहरुको सम्मान र व्यवस्थापन गर्न चुकेको कारण राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नियत र क्षमतामा प्रश्नहरु उठेको छ । लिङ्देनको राजनीतिक इमानदारीमाथि पनि आलोचना हुन थालेको छ । यही घटनाक्रम र प्रवृत्तिले गर्दा समाजमा स्थापित व्यक्ति र नेताहरु राप्रपामा आवद्ध हुनबाट झस्किन थालेका छन् ।
राप्रपा र राप्रपा नेपालबीच समायोजन भएको सात महिना बितिसक्यो तर उक्त एकीकरण प्रक्रियाले निर्वाचन आयोगबाट वैधानिकता पाएन । जबकि, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरु राप्रपाको टिकटबाट चुनाव लडे र धेरै नीतिगत निर्णयहरुमा सहभागी भइसकेका छन् ।
विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका रवीन्द्र मिश्र समूहले पनि निर्वाचन आयोगबाट वैधानिकता पाएन । राप्रपाका वरिष्ठ उपाध्यक्षको रुपमा समायोजन भएका मिश्रले राप्रपा परित्याग गरिसके।उनीसँग राप्रपामा लागेका बहुसंख्यक नेताहरु राप्रपाबाट अलग भइसकेका छन् ।
गत संसदीय चुनावमा राप्रपाबाट चुनाव लडेका डा. सुरेन्द्र भण्डारी र स्वागत नेपालहरु राप्रपाभित्र कुनै वैधानिक हैसियतमा छैनन् । उनीहरुलाई निर्वाचन आयोगले चिन्दैन । भण्डारीसँगै राप्रपामा आवद्ध भएका सुन्दरसिंह बोहरालाई एकता गर्ने बेला पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको थियो । अर्का प्रवक्ता मोहन श्रेष्ठले यही निर्णयबारे सार्वजनिक नोटिस जारी गरेका थिए । तर, पनि बोहराको हैसियत राप्रपाभित्र गुमनाम छ ।
राप्रपाले देशव्यापी जाँच लिएर ४० वर्ष मुनिका युवाहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । ती युवा केन्द्रीय सदस्यहरुलाई हालसम्म निर्वाचन आयोगले चिन्दैन । तीमध्ये इन्जिनियर गोपीकृष्ण चौलागाई, रविकिरण हमाल, मिस नेपाल आस्माकुमारी केसीलगायत धेरै जना युवा नेताहरु राप्रपाबाट अलग भइसकेका छन् ।
लिङ्देनको नेतृत्वमा रहेको राप्रपाले राजनीतिक दल र दलका नेताहरुलाई पार्टीमा स्वागत गरेर अलपत्र पार्ने, एकताको संझौता पालना नगर्ने घटनाक्रमहरु बढिरहेको अवस्थामा राप्रपा नेतृत्वको विश्वसनीयतामाथि गम्भीर शंका उब्जिएको छ । स्मरण रहोस्, गत चुनावमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भयो ।
यस्तै घटनाक्रम र अविश्वासका कारण आगामी मंसिरमा घोषणा भएको महाधिवेशन समयमै सम्पन्न हुन्छ भन्नेमा राप्रपाभित्र ठूलो शंका कायम छ ।
भिडियो:
