`

सोनाम वाङचुकले किन तोडे अनसन?

Nepal One HD ८ साउन २०८३ ११:४२
राजनीति

काठमाडाैं। भारतका चर्चित वातावरण अभियन्ता तथा शिक्षा सुधारका पक्षधर सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको आमरण अनशन अन्ततः तोडेका छन्। शिक्षामा व्यापक सुधार, पारदर्शिता र उत्तरदायित्वको माग गर्दै देशभर युवाहरूले चलाइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनी गत २६ दिनदेखि भोक हडतालमा बसेका थिए।

सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा वाङ्चुकले विभिन्न पक्षबीच लामो समयसम्म भएको वार्ता, आन्दोलनको भावी दिशा तथा देशमा सम्भावित हिंसात्मक अवस्था सिर्जना हुन सक्ने चिन्तालाई ध्यानमा राख्दै आफूले अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्। उनले आन्दोलनका मूल उद्देश्यहरू अझै पूरा नभएकाले संघर्ष भने जारी रहने स्पष्ट पारेका छन्।

५९ वर्षीय वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) र त्यसमा सहभागी विद्यार्थी तथा युवाहरूलाई समर्थन जनाउँदै अनशन सुरु गरेका थिए। आन्दोलनकारीहरूले शिक्षामा देखिएको अनियमितता, परीक्षा प्रणालीमा भएको अव्यवस्था, उत्तरदायित्वको अभाव तथा सुधारका मागलाई लिएर लामो समयदेखि प्रदर्शन गर्दै आएका छन्।

वाङ्चुकले आफ्नो सन्देशमा आन्दोलन पूर्ण रूपमा अहिंसात्मक हुनुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि प्रकारको हिंसाले आन्दोलनको नैतिक शक्ति कमजोर बनाउने उल्लेख गर्दै युवाहरूलाई संयमित, जिम्मेवार र शान्तिपूर्ण ढंगले आफ्ना माग अघि बढाउन आग्रह गरेका छन्।

उनको अनशन भारतभर व्यापक चर्चाको विषय बनेको थियो। सामाजिक अभियन्ता, शिक्षाविद्, विद्यार्थी संगठन तथा विभिन्न नागरिक समूहहरूले उनको अभियानप्रति समर्थन जनाएका थिए भने सरकारसँग आन्दोलनकारीहरूको माग सम्बोधन गर्न दबाब पनि बढ्दै गएको थियो।

अनशन समाप्त गरे पनि शिक्षा सुधारका लागि आफ्नो प्रतिबद्धता यथावत रहने वाङ्चुकले बताएका छन्। उनले आन्दोलनको उद्देश्य व्यक्तिविशेषको विरोध नभई देशको शिक्षा प्रणालीलाई पारदर्शी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउनु रहेको उल्लेख गरेका छन्। उनले सरकार र आन्दोलनकारीबीच संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै युवाहरूको आवाजलाई गम्भीरतापूर्वक सुन्न आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *