धान रोपिएको सडकदेखि चार लेनसम्म : फेरिएको पोखराको हरिचोक-याम्दी सडक
पोखरा। केही समयअघि यही सडक धुलो, हिलो र निर्माणको ढिलासुस्तीका कारण स्थानीयको असन्तुष्टिको प्रतीक बनेको थियो। निर्माण कार्य वर्षौँसम्म लम्बिँदा आक्रोशित स्थानीयले २०८१ साल असार १५ गते राष्ट्रिय धान दिवसकै दिन सडकमै धान रोपेर विरोध जनाएका थिए। त्यो दृश्य देशभर चर्चाको विषय बनेको थियो।
आज भने त्यही भूपी शेरचन राजमार्गअन्तर्गतको हरिचोक-याम्दी सडकखण्ड पूर्णतः फरक स्वरूपमा देखिएको छ। चार लेनमा विस्तार, कालोपत्रे र स्पष्ट लाइन मार्किङपछि सडक आधुनिक र व्यवस्थित बनेको छ। दैनिक हजारौँ सवारीसाधन गुड्ने यो सडक अहिले पोखराको प्रमुख प्रवेशमार्गमध्ये एक आकर्षक सडकका रूपमा स्थापित भएको छ।
करिब २.२ किलोमिटर लामो यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैको महत्त्वपूर्ण खण्ड हो। पोखरालाई पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँग जोड्ने मुख्य मार्ग भएकाले यसको निर्माण ढिलाइले स्थानीय मात्रै होइन, हजारौँ यात्रु र व्यवसायीले वर्षौँसम्म सास्ती खेप्नुपरेको थियो। वर्षायाममा हिलो, सुख्खा मौसममा धुलो र साँघुरो सडकका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बन्दै आएको थियो।
यो सडक स्तरोन्नतिको जिम्मा मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि. ले २०७९ साउन १४ गते ४८ करोड रुपैयाँमा पाएको थियो। प्रारम्भिक सम्झौताअनुसार दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण विभिन्न कारणले पटक-पटक प्रभावित भयो। म्याद तीनपटक थपिएपछि मात्रै यस वर्ष निर्माण सम्पन्न भएको हो। २०८१ साउनसम्म सक्नुपर्ने काम नसकिएपछि चैत मसान्तसम्म म्याद थपिएको थियो भने अन्तिमपटक २०८३ वैशाख मसान्तसम्म समय दिइएको थियो। तर निर्धारित अन्तिम समयभन्दा अगावै निर्माण सम्पन्न भएको हो।
हरिचोक-याम्दी सडकको परिवर्तनले पूर्वाधार विकासमा भएको ढिलाइ र त्यसविरुद्ध स्थानीयले गरेको संघर्ष दुवैलाई सम्झाइदिएको छ। एक समय विरोधको प्रतीक बनेको यही सडक अहिले पोखराको विकास र आधुनिक सडक पूर्वाधारको नयाँ उदाहरण बनेको छ। स्थानीयवासीको अपेक्षा भने अब सडकको नियमित मर्मत, प्रभावकारी ट्राफिक व्यवस्थापन र गुणस्तरको दीर्घकालीन संरक्षणमा केन्द्रित रहेको छ।







