प्रदेश सरकार गठनको टुंगो लगाउन ओली-प्रचण्ड-माधवबीच तीन घण्टा वार्ता
काठमाडौँ। प्रदेश सरकार गठनको भागबण्डा टुंग्याउन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालबीच शनिबार लगातार तीन घण्टादेखि छलफल जारी छ। सुरुमा छलफलमा ओली र प्रचण्ड मात्रै सहभागी भएपनि पछि माधवकुमार पनि सहभागी भएको एमाले स्रोतले जनाएको छ।
दुवै पार्टीले प्रदेश सरकार गठन गर्ने सहमति गरिसकेका छन्, तर मोडालिटी र मन्त्रालय बाँडफाँडको विषय टुंगो लाग्न बाँकी रहेकोले आजै लिखित सम्झौता गर्ने लक्ष्य राखिएको नेताहरूले बताएका छन्। छलफलको स्थान भने सार्वजनिक गरिएको छैन। शुक्रबार हुने भनिएको वार्ता पुष्पलाल श्रेष्ठ स्मृति दिवसको कार्यक्रमका कारण स्थगित गरिएको थियो।
यसअघि कांग्रेस र एमालेले सहकार्य गर्दै प्रदेश सरकारहरु बनाएका थिए। उक्त सहकार्य टुंगिने भएपछी अहिले नेकपा एमाले र नेकपा सहकार्यको प्रयत्नमा जुटिरहेका छन्।
