‘सरकार अभिभावक हो भन्ने अनुभूति नागरिकले पाउनुपर्छ’ : महासचिव पोखरेल
काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरीमा भएको घटनापछि त्यहाँका नागरिकले सरकार आफ्नो अभिभावक हो भन्ने अनुभूति गर्न पाउनुपर्ने बताएका छन्।
उनले नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकार र सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले सुनसरीको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले समाजमा सद्भाव कायम राख्न सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिकको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।
‘सुनसरीका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको छ भन्ने प्रत्याभूति हुनुपर्छ,’ उनले भने, ‘यस्ता घटना किन भइरहेका छन्, त्यसका कारणको पहिचान गरी समयमै समाधान खोज्न आवश्यक छ।’
पोखरेलले सुरक्षा निकायको भूमिकाबारे पनि प्रश्न उठाउँदै यस्ता घटना सुरक्षा संयन्त्रको मनोबल कमजोर भएका कारण भएका हुन् वा भिड व्यवस्थापनमा कमजोरीका कारण भएको हो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले सुरक्षा निकायले नागरिकको ज्यान जोखिममा नपर्ने गरी प्रभावकारी रूपमा भीड व्यवस्थापन गर्न सक्ने क्षमता विकास र आवश्यक तयारीमा ध्यान दिनुपर्ने धारणा राखे।
उनले सामाजिक सद्भाव, शान्ति र कानुनी शासन कायम राख्न सबै पक्षले संयमता अपनाउँदै सरकारलाई सहयोग गर्नुपर्ने पनि आग्रह गरे।
