सन्दीपको ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी
काठमाडौं । नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्दै नेपाली क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। एसिसी प्रिमियर कपअन्तर्गत शनिबार संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको फाइनलमा एक विकेट लिएसँगै सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ३००औँ विकेट पूरा गरेका हुन्।
सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवै प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धि हासिल गरेका हुन्। उनले हालसम्म एकदिवसीय क्रिकेटमा १५८ तथा टी-२० अन्तर्राष्ट्रियमा १४२ विकेट लिएका छन्। यससँगै उनको अन्तर्राष्ट्रिय विकेट संख्या ३०० पुगेको हो।
सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा ७९ खेल तथा टी-२० अन्तर्राष्ट्रियमा ७८ खेल खेलेका छन्। छोटो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर प्रभाव जमाउँदै आएका सन्दीपका लागि ३०० विकेटको उपलब्धि नेपाली क्रिकेटकै महत्वपूर्ण व्यक्तिगत कीर्तिमान बनेको छ।
युएईविरुद्धको फाइनलमा लिएको विकेटसँगै सन्दीपले व्यक्तिगत कीर्तिमान मात्र बनाएनन्, नेपाली क्रिकेट टोलीको सफलतासँग पनि आफ्नो नाम जोड्न सफल भए। उनले विदेशी भूमिमा एसिसी प्रिमियर कपको उपाधि जित्ने नेपाली कप्तानको उपलब्धिसमेत आफ्नो नाममा लेखाएका छन्।
यसअघि सन् २०२३ मा भएको एसिसी प्रिमियर कपको उपाधि नेपालले घरेलु मैदानमै जितेको थियो। उक्त प्रतियोगितामा नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए। यसपटक भने सन्दीपको कप्तानीमा नेपालले विदेशी मैदानमा प्रतियोगिताको उपाधि जित्दै अर्को उपलब्धि हासिल गरेको हो।
सन्दीपको व्यक्तिगत प्रदर्शन एसिसी प्रिमियर कपमा पनि निरन्तर उत्कृष्ट रहँदै आएको छ। उनी एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडीसमेत बनेका छन्। सन् २०२३ को संस्करणमा पनि सन्दीप नै प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका थिए।
सन् २०२३ को प्रिमियर कपमा उनले ब्याटिङतर्फ ५५ रन बनाउनुका साथै बलिङमा १३ विकेट लिएका थिए। त्यस प्रतियोगितामा उनको बलिङ प्रदर्शन नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण बनेको थियो।
यसपटक भने सन्दीपले आफ्नो प्रदर्शनलाई अझ उचाइमा पुर्याएका छन्। एसिसी प्रिमियर कप २०२६ मा उनले ६ खेलबाट १७ विकेट लिए। प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने बलर बने। उनले २.९८ को उत्कृष्ट इकोनोमी रेटमा बलिङ गर्दै विपक्षी टोलीका ब्याटरलाई लगातार दबाबमा राखे।
प्रतियोगिताभर सन्दीपको बलिङ नेपाली टोलीका लागि निर्णायक पक्षका रूपमा देखिएको थियो। महत्वपूर्ण चरणमा विकेट निकाल्ने तथा रन नियन्त्रणमा राख्ने उनको क्षमताले नेपाललाई लगातार सफलता दिलाउन सहयोग गरेको थियो। त्यसैको परिणामस्वरूप नेपालले प्रतियोगिताको उपाधि जित्नुका साथै दोस्रोपटक एसिया कपमा स्थान बनाउन सफल भएको छ।
३०० अन्तर्राष्ट्रिय विकेटको उपलब्धिसँगै सन्दीप नेपाली क्रिकेटका सफल बलरको सूचीमा अझ माथि पुगेका छन्। एकदिवसीय र टी-२० दुवै प्रारूपमा छोटो समयमै प्रभावशाली प्रदर्शन गर्दै आएका उनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्।
