`

फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल

Nepal One HD १३ साउन २०८३ २१:२५
राजनीति

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपाली युवाहरूका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने सम्बन्धमा व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूसँग आज भेट गर्नुभएको छ ।

भेटघाटमा फुटवेयर उद्योगमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति निर्माण गरी विगतका सीप, तालिम तथा रोजगार कार्यक्रमबाट गर्नुपर्ने सिकाइका विषयमा छलफल गर्नुभयो । छलफलमा फुटवेयर उद्योगमा भविष्यमा सहकार्य गर्न सकिने क्षेत्रहरूका विषयमा समेत छलफल भएको छ ।

सोही क्रममा मन्त्री यादवले ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ अभियानलाई सफल बनाउन सरकार र फुटवेयर उद्योगलगायतका निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी तथा दिगो बनाउने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

भेटघाटमा फुटवेयर उद्योगका प्रतिनिधिहरुले १८ हजारदेखि २० हजार जनालाई रोजगार दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशमा आन्तरिक रोजगारी सिर्जना गरी युवाहरूलाई देशमै अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकाबारे छलफल गरिएको थियो ।

सरकारले सीपयुक्त जनशक्ति निर्माण गर्ने र निजी क्षेत्रले रोजगारी दिने कुरामा निरन्तर सहकार्य रहनेबारे समेत छलफल गरिएको थियो ।रोजगारी सिर्जना गर्न मर्यादित श्रमको उपयुक्त वातावरण निर्माण गर्न श्रम र रोजगार प्रणाली स्थापना गर्न यो संवाद र सहकार्यले विशेष महत्त्व राख्ने विश्वास राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *