भ्रामक अफवाह रोक्न र सद्भाव कायम गर्न धनुषामा सर्वपक्षीय प्रतिबद्धता
धनुषामा पछिल्ला घटनाक्रमपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न शुक्रबार बसेको सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले जिल्लाको शान्ति–सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न सबै पक्षले साझा पहल गर्ने प्रतिबद्धता जनाएको छ।
बैठकमा धनुषाको सदरमुकाम जनकपुरधामसहित जिल्लाभर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न धर्मगुरु, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, संघ–संस्था, स्थानीय तहका जनप्रतिनिधि तथा सञ्चारकर्मीले आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।
नागरिकबीच आपसी भाइचारा र धार्मिक सहिष्णुता सुदृढ बनाउन सबै पक्षले आवश्यक पहल र सहकार्य गर्ने प्रतिबद्धता पनि बैठकमा व्यक्त गरिएको छ।
त्यस्तै, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना र अफवाह फैलाउने, पुराना घटनालाई तोडमोड गरी प्रचार गर्ने, धर्म तथा सम्प्रदायबीच घृणा फैलाउने र सामाजिक सद्भाव बिगार्ने गतिविधिलाई निरुत्साहित गर्न सबै पक्ष सहमत भएका छन्।
