`

सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन

Nepal One HD २२ साउन २०८३ ६:०५
समाचार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको बिहीबार निरीक्षणका क्रममा उनले दैनिक रूपमा ट्राफिक जाँचलाई प्रभावकारी बनाई तीव्र गति, ओभरलोड र मादक पदार्थ, लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइका साथ कारबाही गर्न निर्देशन दिएका हुन् ।

उनले नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्न राडर गन, सिसीटिभी, मापसे/लापसे जाँच कीटजस्ता आधुनिक प्रविधिको सही र अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्न आग्रह गरे ।

सवारी दुर्घटना न्यूनीकरण गर्न निर्देशन दिँदै उहाँले लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक अनिवार्य भए/नभएको, भाडादर सही भए/नभएको, आरक्षण सिटको व्यवस्था र टाइमकार्ड लागू भएअनुसार सवारीसाधन सञ्चालनमा रहे/नरहेको कडाइका साथ जाँच गर्नुपर्नेमा जोड दिए । ‘चेकिङ’का क्रममा कसैलाई दुःख हैरानी नदिई सेवाग्राहीप्रति शिष्ट र मर्यादित रूपमा प्रस्तुत हुन प्रहरीलाई आग्रह गरे ।

सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दीपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवा प्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनलगायतका बारेमा अवगत गराएका थिए ।

सो अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृत, मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृतका साथै ट्राफिक प्रहरी कर्मचारीको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *