नेपाली कांग्रेसको विधि, वैधानिकता र लोकतन्त्रको पक्षमा अपिल
नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र होइन । यो लोकतन्त्र, विधिको शासन, त्याग, संघर्ष र जनविश्वासको प्रतीक पनि हो। यस पार्टीलाई यहाँसम्म ल्याउन हजारौं नेता कार्यकर्ताले जेल, नेल, यातना र बलिदान दिएका छन्। त्यसैले कांग्रेसभित्र हुने प्रत्येक निर्णय विधि, विधान र लोकतान्त्रिक प्रक्रियाभित्रै हुनुपर्छ भन्ने अपेक्षा प्रत्येक कांग्रेसजनको हो। तर, जब विधानलाई नै बेवास्ता गरेर निर्णय गरिन्छ, तब त्यसले व्यक्तिलाई मात्र होइन, सिंगो संगठनको आत्मालाई चोट पुर्याउँछ।
२०८२ काे माघ २ गते कांग्रेसकाे आधिकारिकता विवाद निरुपण गर्ने क्रममा तीनमध्ये एक जना सदस्यकाे असहमति हुँदाहुँदै दुई सदस्यले बहुमतको नाममा निर्णय गर्नु, आवश्यक सनाखत नगर्नु तथा सामान्य कानुनी प्रक्रिया समेत पूरा नगर्नु प्रक्रियागत कमजोरी मात्रै थिएन, यो गम्भीर कानुनी प्रश्न उठाउने विषय थियो। लोकतन्त्रमा बहुमत महत्वपूर्ण हुन्छ तर बहुमतको निर्णय पनि कानुन र विधानको सीमाभित्र हुनुपर्छ। विधानविपरीत गरिएको निर्णयलाई लोकतान्त्रिक भन्न सकिँदैन।
यदि यो सम्पूर्ण प्रक्रिया नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार भएको भन्ने हो भने केही आधारभूत प्रश्नहरूको जवाफ आवश्यक छ।
पहिलो, नेपाली कांग्रेसको केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाएको थियो/थिएन ?
दोस्रो, केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव विधिवत् प्रस्तुत भई पारित भएको थियो/थिएन ?
तेस्रो, विशेष महाधिवेशन माग गर्ने ४० प्रतिशत प्रतिनिधि पुगेको आधिकारिक प्रमाण कसले प्रस्तुत गर्यो ? यसको वैधानिक प्रमाण के हाे ?
चौथो, विधानले प्रतिनिधिहरूको माग प्राप्त भएपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको छ। यदि केन्द्रीय समितिले त्यो दायित्व पूरा गरेन भने त्यसपछिको प्रक्रिया के हुने भन्ने विषयमा धारा १७ (२) मौन छ। यस्तो अवस्थामा विधानको धारा ४९ (५) र धारा ७१ अनुसार विधानको व्याख्या गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई हुन्छ। के बाधा अड्काउ फुकाउने निर्णय भयो ? के आवश्यक कार्यविधि बनाइयो ?
पाँचौं, विधानको धारा २६ अनुसार सभापतिले राजीनामा दिएका थिएनन्। धारा ४३ अनुसार कार्यकाल समाप्त भएको अवस्था पनि थिएन। धारा ४४ अनुसार अविश्वास प्रस्ताव दर्ता भएको अवस्था पनि थिएन। अनि कसरी सभापति फेरियाे ?
छैटौं, धारा ४४ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी दुईतिहाइ बहुमतबाट अविश्वास प्रस्ताव पारित भएर पद रिक्त भएको अवस्था पनि थिएन। जबकि विधानमा स्पष्ट छ- केन्द्रीय कार्यसमितिविरुद्ध कम्तीमा २५ प्रतिशत सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गर्नुपर्ने, त्यसपछि दुईतिहाइ बहुमतबाट पारित भएपछि मात्र सम्बन्धित पद वा कार्यसमिति रिक्त हुने व्यवस्था छ। स्थान रिक्त भएपछि मात्र नयाँ नेतृत्व वा नयाँ कार्यसमितिको स्थापना गर्ने संवैधानिक र वैधानिक बाटो खुल्छ। के यी प्रक्रिया पूरा गरियाे ?
जब यी कुनै पनि वैधानिक प्रक्रिया पूरा भएका छैनन् भने कुन आधारमा नयाँ संरचना निर्माण गरियो ? कुन अधिकारले पुरानो संरचनालाई विस्थापित गरियो ? यी प्रश्नहरू कुनै व्यक्ति वा समूहविरुद्ध होइनन्, यी प्रश्नहरू कांग्रेसको विधान, विधि र लोकतान्त्रिक संस्कृतिको पक्षमा उठाइएका प्रश्न हुन्।
हामी व्यक्तिको विरोध गरिरहेका छैनौँ। हामी विधिको सम्मान खोजिरहेका छौँ। किनकि व्यक्ति बदलिन्छन्, पद बदलिन्छन्, नेतृत्व बदलिन्छ तर विधान, संस्था र लोकतान्त्रिक मूल्यहरू जोगिनुपर्छ। आज विधानमाथि राजनीति गरियो भने भोलि संगठनमाथि संकट आउँछ। आज प्रक्रियालाई कमजोर बनाइयो भने भोलि जनविश्वास कमजोर हुन्छ।
कांग्रेसको शक्ति व्यक्तिमा होइन, विधानमा छ। कांग्रेसको भविष्य नारामा होइन, विधिमा छ। कांग्रेसको गौरव बहुमतको बलमा होइन, न्यायपूर्ण प्रक्रियामा छ। त्यसैले विधि मिचेर प्राप्त गरिएको कुनै पनि उपलब्धिले अन्ततः संगठनलाई कमजोर बनाउँछ।
आज आवश्यक कुरा आरोप र प्रत्यारोप होइन, सत्यको खोजी हो। प्रतिशोध होइन, न्याय हो। विभाजन होइन, एकता हो। तर, त्यो एकता पनि विधि र विधानमाथि उभिएको हुनुपर्छ। विधानलाई कुल्चेर बनाइएको एकता दीर्घकालीन हुन सक्दैन।
हामी सबैले स्मरण गरौं- नेपाली कांग्रेस देशलाई लोकतन्त्र सिकाएको पार्टी हो। लोकतन्त्र सिकाउने पार्टीले आफ्नै घरभित्र लोकतान्त्रिक विधि र वैधानिक प्रक्रिया पालना गर्न सकेन भने जनतासामु नैतिक रूपमा कमजोर हुन्छ। त्यसैले आजको आवश्यकता कसैलाई जिताउने वा हराउने होइन, विधानलाई जिताउने, विधिलाई सम्मान गर्ने र कांग्रेसको लोकतान्त्रिक परम्परालाई जोगाउने हो।
अन्ततः हाम्रो आग्रह एउटै हो- व्यक्ति होइन, विधान ठूलो हो। पद होइन, प्रक्रिया ठूलो हो। बहुमत होइन, वैधानिकता सर्वोपरि हो। जबसम्म विधानले निर्धारण गरेका सम्पूर्ण प्रक्रिया पूरा हुँदैनन्, तबसम्म कुनै पनि नयाँ संरचनाले पूर्ण नैतिक र वैधानिक आधार प्राप्त गर्न सक्दैन। यही सत्यलाई स्वीकार गरेर मात्र नेपाली कांग्रेस फेरि एकपटक विधि, लोकतन्त्र र जनविश्वासको बलियो आधारमा उभिन सक्छ।
