जो रुट सचिनको रेकर्ड नजिक
काठमाडाैं। बेन स्टोक्सले टेस्ट टोलीको कप्तानीबाट राजीनामा दिएपछि जोए रूट पुनः इंग्ल्यान्डको टेस्ट कप्तान नियुक्त भएका छन्। चार वर्षपछि कप्तानीमा फर्किएका रूटले अब भारतीय महान् ब्याटर सचिन तेन्दुलकरका दुई ऐतिहासिक कीर्तिमान चुनौती दिन सक्ने चर्चा चुलिएको छ।
हालका समयका उत्कृष्ट टेस्ट ब्याटरमध्ये एक मानिने रूटले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै नयाँ–नयाँ कीर्तिमान बनाइरहेका छन्। उनी अहिले टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। यो सूचीमा उनीभन्दा माथि केवल सचिन तेन्दुलकर मात्र रहेका छन्।
सचिनले आफ्नो टेस्ट करिअरमा २०० खेल खेल्दै ५१ शतक, ६८ अर्धशतक र १५ हजार ९२१ रन बनाएका थिए। यता रूटले १६६ टेस्टमा ४१ शतकसहित १४ हजार ११४ रन जोडिसकेका छन्। उनी सचिनको सर्वाधिक रनको कीर्तिमानभन्दा अब केवल १ हजार ८०७ रनले पछाडि छन्।
सर्वाधिक रनको कीर्तिमानसँगै टेस्ट क्रिकेटमा सर्वाधिक ५१ शतक बनाउने सचिनको अर्को कीर्तिमान पनि रूटको निशानामा रहेको विश्लेषण भइरहेको छ। इंग्ल्यान्डले हरेक वर्ष पर्याप्त टेस्ट क्रिकेट खेल्ने भएकाले रूटले आगामी केही वर्षसम्म नियमित खेलिरहेमा यी दुवै कीर्तिमान तोड्ने सम्भावना बलियो देखिएको छ।
इंग्ल्यान्डले आगामी अगस्ट–सेप्टेम्बरमा घरेलु मैदानमा पाकिस्तानविरुद्ध तीन टेस्टको शृङ्खला खेल्ने तालिका छ। त्यसपछि डिसेम्बरमा दक्षिण अफ्रिकाको भ्रमण गर्दै तीन टेस्ट खेल्नेछ।
यस्तै, आगामी वर्ष मे महिनामा बंगलादेशविरुद्ध एक टेस्ट खेल्ने कार्यक्रम रहेको छ भने त्यसलगत्तै जुन–जुलाईमा अस्ट्रेलियाविरुद्ध प्रतिष्ठित पाँच टेस्टको एशेज शृङ्खला खेल्नेछ।
यसरी आगामी वर्ष जुलाईसम्म इंग्ल्यान्डले कम्तीमा १२ टेस्ट खेल्ने भएकाले रूटले उत्कृष्ट लय कायम राख्न सके सचिन तेन्दुलकरका सर्वाधिक रन र सर्वाधिक शतकका ऐतिहासिक कीर्तिमानलाई चुनौती दिन सक्ने अनुमान गरिएको छ।
