`

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

Nepal One HD २५ साउन २०८३ २०:०२
विश्व

इन्डोनेसिया। जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५०० हेक्टरभन्दा बढी क्षेत्रलाई नष्ट गरेको अधिकारीले बताएका छन् ।इन्डोनेसियाली आगो नियन्त्रकहरूले हेलिकप्टर र ड्रोनको सहयोगमा सोमबार आठौं दिनसम्म आगो नियन्त्रण लिने सङ्घर्षरत रहेका छन् ।

यो आगोले लोकप्रिय पर्यटकीय गन्तव्य ब्रोमो तेङ्गर सेमेरु राष्ट्रिय निकुञ्ज बन्द गर्न बाध्य बनाएको छ र ७०० भन्दा बढी फुटबल मैदान बराबरको क्षेत्र जलाएको छ।“सोमबारसम्ममा आगो निकुञ्जको डिङक्लिक उपत्यका क्षेत्रको आवासीय क्षेत्रतर्फ फैलिएको जाभा विपद् न्यूनीकरण एजेन्सीका पूर्व अधिकारी सात्रियो नुरसेनोले बताउनुभयो ।

दुई वटा पानी छर्ने हेलिकोप्टर, कैयौँ दमकल र ‘स्प्रिङ्कलर’ सहितका ड्रोनहरूले आगोसँग लड्न खटाइएका वन रक्षक र सैनिकहरूलाई सहयोग गरिरहेका सात्रियोले बताउनुभयो ।

वन मन्त्री राजा जुली एन्टोनीले आइतबार भन्नुभयो, “बादल नभएकाले ब्रोमो क्षेत्रमाथि वर्षा गराउन ‘क्लाउड–सिडिङ मिसन’ उडाउन केही दिनसम्म सम्भव हुने छैन।”‘क्लाउड–सिडिङ मिसन’ मा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुन जस्ता कण छर्केर वर्षा गराइन्छ।

सन् २०२३ मा ब्रोमो पर्वतमा विवाहपूर्वको फोटो लिने क्रममा एक जोडीले पटाका बाल्दा सुरु भएको आगोले ५०० हेक्टरभन्दा बढी भूमि नष्ट गरेको थियो ।

राष्ट्रिय मौसम निकायका अनुसार यस वर्ष इन्डोनेसियामा लामो र तीव्र सुख्खा मौसम अनुभव हुने पूर्वानुमान छ, जसमा आंशिक रूपमा एल निनो मौसमी घटनाका कारण खडेरी र जङ्गली आगोको उच्च जोखिम छ ।

एल निनो एउटा प्राकृतिक रूपमा हुने जलवायु घटना हो जसले विश्वव्यापी रूपमा हावा, वायुको चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ।

भारत र दक्षिण–पूर्वी एसियामा यसले सामान्यतया सुख्खा अवस्था सिर्जना गर्छ।

गत एल निनोले सन् २०२३ र सन् २०२४ लाई विश्वव्यापी रूपमा रेकर्डमा सबैभन्दा तातो दुई वर्ष बनाउन मद्दत गरेको थियो ।

यस वर्षको पहिलो छ महिनामा देशभर एकलाख सात हजार हेक्टरभन्दा बढी भूमि जलेको छ । यो सन् २०२३ मा जङ्गली आगोबाट नष्ट भएको क्षेत्रभन्दा दोब्बरभन्दा बढी हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *