कप्तानीमा सन्दीपको दोस्रो ‘इनिङ’
काठमाडौं । नेपाली क्रिकेट टोलीको एकदिवसीय टोलीको कप्तानमा सन्दिप लामिछाने नियुक्त भए। उनी एसीसी प्रिमियर कपबाट नेपाली क्रिकेट टोलीको कप्तानको रुपमा नेतृत्व गर्नेछन्। अहिले नेपाली क्रिकेट टिम कठिन मोडबाट गुज्रिरहेको छ। एकातिर नेपाली टोलीमाथि एकदिवसीय मान्यता जोगाउनुपर्ने ठुलो चुनौती छ भने अर्कोतिर पहिलोपटक विश्वकप खेल्ने लाखौँ नेपाली क्रिकेट समर्थकको सपनालाई आकार दिनुपर्नेछ। यस्तो अवस्थामा कप्तान नियुक्त भएका सन्दीपले नेपाली टोलीलाई कसरी नेतृत्व गर्लान्, समर्थकहरुमा नयाँ उत्साह थपिएको छ।
नेपाली क्रिकेटमा सन्दीप लामिछानेको यात्रा असाधारण उतारचढावले भरिएको छ। किशोर अवस्थामै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका सन्दीपले छोटो समयमै आफूलाई नेपालको सबैभन्दा चर्चित क्रिकेटरका रूपमा स्थापित गरे। लेग स्पिनरको रुपमा नेपाली टोलीमा प्रवेश गरेका लामिछानेको यात्रा अन्तर्राष्ट्रियस्तरमै विश्वका ठूला क्रिकेट लिगसम्म पुग्यो। त्यसपछि राष्ट्रिय टोलीको कप्तानी, बलात्कारको आरोपमा कानुनी विवाद, निलम्बन, पुनरागमन र फेरि नेपाली एकदिवसीय टोलीको कप्तानीमा फर्किनेसम्म आइपुग्दा उनको करियरले धेरै मोड पार गरेको छ।
हाल उनी पुनः नेपाली एकदिवसीय टोलीको कप्तानीमा फर्किएका छन्। नेपाल क्रिकेट संघले उनलाई आगामी एसीसी पुरुष प्रिमियर कपमा नेपाली टोलीको नेतृत्वको जिम्मेवारी दिएको छ। मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म हुने प्रतियोगिताबाट सन्दीपको दोस्रो कप्तानी कार्यकाल सुरु हुँदैछ। यसपटक उनी एकदिवसीय टोलीको नेतृत्व गर्नेछन् भने टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्।
सन्दीप लामिछानेको क्रिकेट यात्रा अन्य धेरै नेपाली खेलाडीभन्दा पृथक छ। कम उमेरमै बलिङमा असाधारण क्षमता प्रदर्शन गरेका उनले लेग स्पिनलाई आफ्नो प्रमुख हतियार बनाए। नेपाली क्रिकेटमा त्यतिबेला अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने स्पिनरको खोजी भइरहेको थियो। त्यही समयमा सन्दिपको बलिङ शैली, गुग्ली र मिस्ट्री स्पिनका कारण उनलाई उमेर समूहको क्रिकेटबाट राष्ट्रिय टोलीसम्म पुर्यायो। किशोर अवस्थामै राष्ट्रिय टोलीमा स्थान बनाउनु उनका लागि ठूलो उपलब्धि थियो। उनले नेपाली क्रिकेटमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पाए।
सन्दीपले नेपाली राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाएका छन्। नेपालजस्तो एसोसिएट राष्ट्रबाट आएको खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित खेलाडीहरूलाई चुनौती दिन सक्ने क्षमता देखाएपछि सन्दीपको चर्चा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा समेत चुलियो।
उनको करियरको महत्वपूर्ण पक्ष भनेको राष्ट्रिय टोलीमा सीमित नरहनु थियो। विश्वभर आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा खेल्ने अवसर पाएपछि उनको अनुभव र पहिचान झन् फराकिलो भयो।
विश्वका विभिन्न टी-२० लिगमा खेल्दै उनले फरक फरक देशका खेलाडी र प्रशिक्षकसँग काम गर्ने अवसर पाए। यसले उनको खेल कौशलसँगै अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव पनि बढायो। नेपाली खेलाडीका लागि विश्वका ठूला फ्रेन्चाइज प्रतियोगितामा नियमित स्थान बनाउनु आफैंमा दुर्लभ उपलब्धि थियो।
सन्दीपको विश्व क्रिकेटमा भएको उदय नेपाली क्रिकेटका लागि व्यक्तिगत सफलताभन्दा पनि ठूलो विषय थियो। उनी विश्वका विभिन्न क्रिकेट लिगमा खेल्न थालेपछि नेपालका अन्य खेलाडीका लागि पनि अन्तर्राष्ट्रिय अवसरको ढोका खुल्न थाल्यो। टी-२० क्रिकेटमा स्पिनरको भूमिका महत्वपूर्ण हुने भएकाले सन्दीपले आफ्नो बलिङ क्षमतालाई छोटो ढाँचामा प्रभावकारी रूपमा प्रयोग गरे। विश्व क्रिकेटका स्थापित खेलाडीहरूसँग ड्रेसिङ रुम बाँड्ने र अन्तर्राष्ट्रिय प्रशिक्षकसँग काम गर्ने अवसरले उनको क्रिकेट बुझाइ पनि विस्तार भयो।
सन् २०२१ को अन्त्यतिर सन्दीपले पहिलोपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्ने अवसर पाए। १५ डिसेम्बर २०२१ मा उनलाई ज्ञानेन्द्र मल्लको स्थानमा राष्ट्रिय टोलीको कप्तान नियुक्त गरिएको थियो। त्यतिबेला सन्दीप २१ वर्ष २२६ दिनका थिए। कम उमेरमै राष्ट्रिय टोलीको कप्तानी पाउने खेलाडीमध्ये उनी एक बने। उनले एकदिवसीयसँगै टी-२० अन्तर्राष्ट्रिय टोलीको नेतृत्व पनि सम्हाले।
कप्तानका रुपमा सन्दीपको पहिलो एकदिवसीय कप्तानी कार्यकाल लामो रहेन। उनले नेपालका लागि १४ एकदिवसीय खेलमा कप्तानी गरे। तीमध्ये नेपालले चार खेल जितेको छ भने नौ खेलमा पराजय बेहेरेको छ। त्यस्तै, एक खेल बराबरीमा सकियो।
सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा भने निकै राम्रो कप्तानी रेकर्ड बनाएका छन्। उनले नेपाललाई १८ टी-२० अन्तर्राष्ट्रिय खेलमा नेतृत्व गरेका छन्। जसमध्ये नेपाल १३ खेलमा विजयी भएको छ भने भने पाँच खेलमा पराजित भएको छ। रणनीतिका रुपमा छोटो ढाँचाको क्रिकेटमा प्रभावकारीदेखिन्छ।
सन् २०२२ मा सन्दीपको क्रिकेट यात्राले अचानक कठिन मोड लियो। बलात्कारको आरोप लागेपछि कानुनी प्रक्रियाका कारण नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गर्यो। त्यससँगै उनको कप्तानीको पहिलो कार्यकाल पनि समाप्त भयो।
सन् २०२४ मा पाटन उच्च अदालतले बलात्कारको आरोपमा उनलाई सफाइ दिएपछि नेपाल क्रिकेट संघले पनि सोही दिन घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिमाथिको निलम्बन पनि फुकुवा गर्यो। यससँगै सन्दीपका लागि राष्ट्रिय क्रिकेटमा पुनरागमनको बाटो खुल्यो। लामो समयपछि उनी फेरि नेपाली टोलीको हिस्सा बने।
रोहित पौडेलको कप्तानी अध्याय समाप्त भएपछि नेपाल क्रिकेट संघले पुनः सन्दीपलाई एकदिवसीय टोलीको नेतृत्वमा फर्काएको छ। यसपटक भने नेपालले विभाजित कप्तानीको नीति अपनाएको छ।
सन्दीपले एकदिवसीय टोलीको नेतृत्व गर्नेछन् भने दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नेछन्। यसले दुवै ढाँचामा फरक नेतृत्व प्रयोग गर्ने क्यानको रणनीति देखाउँछ।
सन्दीपका लागि सबैभन्दा ठूलो चुनौती भनेको खराब लयबाट गुज्रिरहेको नेपाली एकदिवसीय टोलीलाई पुनः प्रतिस्पर्धात्मक अवस्थामा फर्काउनु हुनेछ।
नेपालले पछिल्लो समय विश्वकप लिग-२ को नेदरल्यान्ड्स भ्रमणमा निराशाजनक प्रदर्शन गरेको थियो। नामिबिया र नेदरल्यान्ड्सविरुद्ध खेलेका चारै खेलमा नेपाल पराजित भएको थियो। ब्याटिङमा निरन्तर समस्या देखिँदा नेपाल शीर्ष चारको दौडबाट थप टाढिएको छ।
यस्तो अवस्थामा सन्दीपले कप्तानका रूपमा पहिलो जिम्मेवारी सम्हाल्दैछन्। त्यसैले मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कप उनको व्यक्तिगत पुनरागमनभन्दा पनि नेपाली एकदिवसीय क्रिकेटको पुनर्निर्माणको सुरुआतका रूपमा महत्वपूर्ण हुनेछ।
लामिछानेको यात्रा हेर्दा उनी केवल एक लेग स्पिनरबाट राष्ट्रिय टोलीको कप्तान बनेका खेलाडी होइनन्। उनी नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने पुस्ताका महत्वपूर्ण प्रतिनिधि हुन्।
किशोर अवस्थाबाट राष्ट्रिय टोलीमा प्रवेश, विश्वका फ्रेन्चाइज लिगमा सहभागिता, अन्तर्राष्ट्रिय स्तरमा स्थापित खेलाडीहरूसँग प्रतिस्पर्धा, राष्ट्रिय टोलीको कप्तानी, कानुनी विवादका कारण निलम्बन, पुनरागमन र पुनः कप्तानीमा नियुक्तिसम्म आइपुग्दा उनको करियरमा धेरै उतारचढाव आएका छन्।
अब उनको अगाडि अर्को चुनौती छ-नेपाली एकदिवसीय टोलीलाई कठिन अवस्थाबाट बाहिर निकाल्ने।
मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कपबाट सुरु हुने उनको दोस्रो कप्तानी कार्यकालमा सबैको नजर हुनेछ। नेपाललाई जिततर्फ डोर्याउने मात्र होइन, टोलीको आत्मविश्वास पुनः निर्माण गर्ने जिम्मेवारी पनि सन्दीपको काँधमा हुनेछ। सन्दीपका लागि यो केवल कप्तानमा फर्किने अवसर होइन। यो आफ्नो क्रिकेट करियरको अर्को अध्यायलाई नयाँ ढंगले लेख्ने मौका पनि हो। एक समय नेपाली क्रिकेटका सबैभन्दा चम्किला युवा प्रतिभाका रूपमा उदाएका सन्दीप अब अनुभव बोकेर फेरि नेतृत्वको जिम्मेवारीमा फर्किएका छन्।
नेपाली क्रिकेटले पछिल्लो समय हासिल गरेको सफलतालाई निरन्तरता दिँदै नयाँ पुस्तालाई अघि बढाउने र एकदिवसीय टोलीलाई पुनः बलियो बनाउने चुनौती सन्दीपसामु छ। मलेसियाको प्रिमियर कपबाट सुरु हुने यो यात्रा उनको व्यक्तिगत करियरसँगै नेपाली क्रिकेटको आगामी दिशाका लागि पनि महत्वपूर्ण बन्नेछ।
लामिछानेका रेकर्ड
एकदिवसीय क्रिकेटमा १ अगस्ट २०१८ मा नेदरल्याण्ड विरुद्द र ३१ मे २०१८ मा वर्ल्ड-११ का विरुद्दमा नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका स्टार लेगस्पिनर लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न ऐतिहासिक कीर्तिमान बनाएका छन्। छोटो समयमै विश्व क्रिकेटमा आफ्नो प्रभाव छाडेका लामिछाने नेपालका प्रमुख विकेटटेकरमध्ये एक हुन्।
हालसम्म लामिछानेले नेपालका लागि ७४ एकदिवसीय खेल खेलेका छन् भने १ सय ५४ अन्तराष्ट्रिय एकदिवसीय विकेट उनको नाममा छन्। त्यस्तै, ७७ ट्वान्टी-२० अनतराष्ट्रिय खेल खेलेका उनले १ सय ४१ विकेट लिएका छन्। ब्याटिङ अन्तर्गत भने एकदिवसीयमा ४९ र ट्वान्टी-२० १६ रन अन्तराष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर हो।
लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले केवल ४२ खेलमा १०० विकेट पूरा गर्दै अफगानिस्तानका राशिद खानको यसअघिको कीर्तिमान तोडेका थिए।
त्यस्तै, लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा बनाएका छन्। उनले ७३ खेलमै १५० विकेट पूरा गर्दै विश्व क्रिकेटमा नयाँ मानक स्थापित गरेका हुन्।
नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने क्रममा लामिछानेले एकै इनिङमा ११ रन खर्चेर ६ विकेट लिएका छन्। यो प्रदर्शन नेपाली क्रिकेटका उत्कृष्ट बलिङ प्रदर्शनमध्ये एकका रूपमा रहेको छ।
लामिछाने नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय दुवै ढाँचामा सर्वाधिक विकेट लिने खेलाडीसमेत हुन्।
फ्रेन्चाइज क्रिकेटमा पनि लामिछानेले नेपालका लागि ऐतिहासिक सुरुआत गरेका छन्। उनी इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता ठूला अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए।
