किन पक्राउ परे जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ ?
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । जनआस्था साप्ताहिकका प्रधान सम्पादकरहेका श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेको हो । एक युवतीले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
ती युवतीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता ऐनअन्तर्गत कसुर गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्।
गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ का सांसद अमरकान्त चौधरीसँग सम्बन्धित समाचार सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा आफ्नो नाम जोडिएको भन्दै समाचारमा उल्लेखित युवतीले प्रहरीसमक्ष जाहेरी दिएकी थिइन्।
जाहेरीपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै श्रेष्ठलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले श्रेष्ठमाथि लागेको आरोपबारे अनुसन्धानबाट थप तथ्य खुल्ने जनाएको छ। पक्राउ परेका श्रेष्ठमाथि लागेको आरोप भने कानुनी प्रक्रियाबाट पुष्टि हुन बाँकी रहेको छ।
