शान्ति श्री र गोविन्द पौडेलले ल्याए तीजको रमाइलो कोसेली ‘मेरी माया नाचिदेउ छम छम’
काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक गोबिन्द पौडेल र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर आवाजमा नयाँ तीज गीत ‘मेरी माया नाचिदेउ छम छम’ सार्वजनिक भएको छ। तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा प्रेमी–प्रेमिकाबीचको प्रेम, माया र सम्बन्धलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ। गीतमा गोबिन्द पौडेलकै लय तथा शब्द रहेको छ भने मिक्सटेप इन्टरटेण्डमेन्टले गीतलाई बजारमा ल्याएको हो।
पछिल्लो समय भारतमा रहेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका गायक पौडेलले प्रवासमा रहे पनि नेपाली लोकदोहोरीप्रतिको आफ्नो लगावलाई कायमै राखेका छन्। भारतमा रहेर विभिन्न सांगीतिक गतिविधि तथा दोहोरी प्रस्तुतिमा सक्रिय हुँदै आएका पौडेलले नयाँ–नयाँ सिर्जनामार्फत नेपाली दर्शक–श्रोतामाझ आफ्नो उपस्थिति निरन्तर बलियो बनाइरहेका छन्।
‘मेरी माया नाचिदेउ छम छम’मा पौडेलसँगै लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजले गीतलाई थप आकर्षक बनाएको छ। तीजको मौलिक वातावरण, प्रेमिल भाव र नाच्न मन लाग्ने लयलाई समेटिएको गीतले तीजको सांगीतिक माहोललाई थप रमाइलो बनाउने अपेक्षा गरिएको छ।गीतको भिडियोमा स्वयता विश्वकर्मा र सुरेश कोहलीले अभिनय गरेका छन्। प्रेमी–प्रेमिकाबीचको सम्बन्ध र भावनालाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। गीतका निर्माता देव र विकास रहेका छन्।
नेपालबाट टाढा रहेर पनि नेपाली गीत–संगीत र विशेषगरी लोकदोहोरीलाई निरन्तरता दिइरहेका गोबिन्द पौडेलको यो नयाँ सिर्जनाले प्रवासमा रहेका नेपालीदेखि स्वदेशमा रहेका लोकदोहोरीप्रेमी दर्शक–श्रोतासम्मलाई जोड्ने विश्वास गरिएको छ।तीजको रमझममा नाच्न र रमाउन चाहने दर्शक–श्रोताका लागि ‘मेरी माया नाचिदेउ छम छम’ अहिलेको नयाँ सांगीतिक रोजाइ बन्न सक्ने देखिन्छ।
