`

प्रकाश पराजुली र प्रियाको जोडीको ‘म्वाई खादै’ले तान्यो दर्शकको ध्यान

Nepal One HD ३१ साउन २०८३ १०:२६
भिडियो

काठमाडौं । नेपाली दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक प्रकाश पराजुलीले यस वर्षको तीजलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘म्वाई खादै’ बोलको गीत अहिले चर्चामा छ। आफ्नै श्रीमती प्रिया अधिकारीलाई भिडियोमा अभिनय गराउँदै पराजुलीले सार्वजनिक गरेको गीतले दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ।

गीतमा एउटी नारीले आफ्नो जीवनमा भोगेको पीडा आमाको अगाडि समेत लुकाएर सुनाउनुपर्ने बाध्यतालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। श्रीमान् तथा परिवारबाट पाएको पीडा र यातनालाई समेत सहेर अरूको अगाडि मुस्कुराउन बाध्य हुने नारीको वास्तविकतालाई गीतले प्रस्तुत गर्न खोजेको छ।

भिडियोमा प्रियाको अभिनय र नृत्यले पनि दर्शकको मन जितेको छ। सामाजिक सञ्जालमा रमाइला भिडियोमार्फत चिनिँदै आउनुभएकी प्रियाले अभिनय र नृत्यमा समेत आफ्नो क्षमता देखाउनुभएको छ। गीतमा उहाँले निर्वाह गर्नुभएको भावनात्मक भूमिकाको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

प्रकाश पराजुलीको शब्द तथा संगीत रहेको गीतमा चर्चित दोहोरी गायिका देवी घर्तीको आवाज रहेको छ। पराजुलीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले पराइ घर गएपछि एउटी नारीले भोग्नुपर्ने पीडा, संघर्ष र वास्तविकतालाई कथामार्फत प्रस्तुत गरेको छ।

गीतका शब्द र भावअनुसार अहिले टिकटकमा समेत विभिन्न भिडियोहरू बनिरहेका छन्। गीतका टुक्का तथा भावलाई प्रयोग गरेर ठूलो संख्यामा टिकटक भिडियो बनेका छन्। करिब एक लाखभन्दा बढी टिकटक भिडियो बनेको दाबी गरिएको यो गीत यस वर्षको तीज गीतमध्ये सामाजिक सञ्जालमा राम्रो चर्चा पाउने गीतका रूपमा देखिएको छ।

प्रकाश पराजुली नेपाली दोहोरी क्षेत्रमा भावुक तथा मन छुने सिर्जनाका लागि परिचित हुनुहुन्छ। उहाँका गीतमा नेपाली समाज, प्रेम, सम्बन्ध र मानिसका वास्तविक पीडालाई समेटिएको पाइन्छ। लाइभ दोहोरीमा समेत उहाँले प्रस्तुत गर्ने शब्द, टुक्का र भाव सामाजिक सञ्जालमा बारम्बार भाइरल हुने गरेका छन्।

प्रकाश र प्रिया प्रेम विवाह गर्नुभएको जोडी हुनुहुन्छ। विवाहको सुरुवाती समयदेखि नै चर्चामा रहेको यो जोडी पछिल्लो समय व्यवसायसँगै सांगीतिक क्षेत्रमा पनि सँगसँगै देखिँदै आएको छ। प्रकाश दोहोरी च्याम्पियनमा प्रतिस्पर्धा गर्दा प्रियाले उहाँको सफलताका लागि निरन्तर भोट माग्दै साथ दिनुभएको थियो। अन्ततः प्रकाश पराजुली सहभागी टिम नै दोहोरी च्याम्पियन बन्न सफल भएको थियो।

स्याङ्जामा जन्मिनुभएका प्रकाश पराजुली सानैदेखि दोहोरी क्षेत्रमा सक्रिय सर्जकका रूपमा स्थापित हुनुभएको हो। उहाँले सिर्जना गरेका थुप्रै गीत दर्शक तथा श्रोताको मनमा बस्न सफल भएका छन्। आफ्ना सिर्जनामा आफैंले आवाज दिँदै उहाँले विभिन्न गीत बजारमा ल्याउनुभएको छ भने उहाँका सिर्जनामा अन्य कलाकारले समेत लगानी गरेर गीत सार्वजनिक गर्दै आएका छन्।

पछिल्लो समय देश तथा विदेशका विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त रहनुभएका पराजुली अहिले स्टेज कार्यक्रमहरूमा समेत सक्रिय देखिनुहुन्छ। ‘म्वाई खादै’मा भने उहाँले सिर्जनासँगै अभिनयमा समेत आफूलाई प्रस्तुत गर्नुभएको छ।

नारीको पीडा, सहनशीलता र वास्तविक जीवनको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरेको ‘म्वाई खादै’ गीतले आगामी दिनमा अझै दर्शकको माया पाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *