नयाँ सिजनदेखि कडा नियम, प्रिमियर लिगमा ‘टाइम पास’ बन्द
काठमाडौं। २०२६/२७ सिजनदेखि इंग्लिस प्रिमियर लिगमा खेललाई थप गतिशील बनाउने उद्देश्यले फुटबलका केही नियममा महत्वपूर्ण परिवर्तन हुने भएका छन्।
अन्तर्राष्ट्रिय फुटबल नियम बनाउने निकाय आईएफएबीले स्वीकृत गरेका व्यवस्थाअनुसार विशेषगरी समय लम्ब्याउने, चोटको बहाना बनाउने र खेल पुनः सुरु गर्न ढिलाइ गर्ने प्रवृत्तिमाथि कडाइ गरिनेछ।
नयाँ व्यवस्थाले खेलको प्रभावकारी समय बढाउनुका साथै रेफ्रीको निर्णय प्रक्रियालाई थप स्पष्ट बनाउने लक्ष्य राखेको छ।
खेलका क्रममा चोट लागेर उपचारका लागि मैदानबाहिर गएका खेलाडीले उपचारपछि तत्काल मैदान प्रवेश गर्न पाउने छैनन्। अब उनी कम्तीमा एक मिनेट मैदानबाहिर बस्नुपर्नेछ।
यसअघि उपचारपछि करिब ३० सेकेन्डमै खेलाडी मैदान फर्कन सक्ने व्यवस्था थियो। चोटको बहानामा खेलको गति रोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नयाँ व्यवस्था ल्याइएको हो।
थ्रो–इन र गोलकिक लिन अनावश्यक ढिलाइ गर्ने खेलाडीलाई पनि नयाँ नियमले नियन्त्रण गर्नेछ। रेफ्रीले पाँचदेखि एकसम्म उल्टो गन्ती गर्नेछन्।
निर्धारित पाँच सेकेन्डभित्र थ्रो–इन गर्न नसके विपक्षी टोलीले थ्रो–इन पाउनेछ। गोलकिकको हकमा भने विपक्षी टोलीलाई कर्नर किक दिइनेछ।
यसले खेलाडीले बल पुनः खेलमा ल्याउन जानाजानी समय लगाउने प्रवृत्तिमा कमी ल्याउने अपेक्षा गरिएको छ।
प्रतिस्थापनका क्रममा मैदान छाड्ने खेलाडीले अब १० सेकेन्डभित्र मैदानबाट बाहिरिनुपर्नेछ। तोकिएको समयभन्दा बढी ढिलाइ गरेमा नयाँ खेलाडीले तत्काल मैदान प्रवेश गर्न पाउने छैन।
ढिलाइ गर्ने अवस्थामा प्रतिस्थापन भएर आउने खेलाडीले खेल पुनः सुरु भएको एक मिनेटसम्म कुर्नुपर्ने व्यवस्था गरिएको छ।
दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्ड हुने अवस्थामा रेफ्रीबाट स्पष्ट गल्ती भएको देखिएमा अब भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले हस्तक्षेप गर्न सक्नेछ।
यसअघि दोस्रो पहेँलो कार्डसँग सम्बन्धित निर्णयमा भीएआरको प्रत्यक्ष हस्तक्षेपको व्यवस्था थिएन। नयाँ प्रावधानले स्पष्ट गल्तीका कारण खेलाडीले अनुचित रूपमा रातो कार्ड पाउने सम्भावना घटाउने अपेक्षा गरिएको छ।
गोलकिपरले चोट लागेको बहाना बनाएर खेलको गति रोक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ व्यवस्था परीक्षणका रूपमा लागू गरिनेछ।
गोलकिपरको चोटका कारण खेल रोकिएमा प्रशिक्षकले मैदानमा रहेका अर्को एक खेलाडीलाई तत्काल बाहिर पठाउनुपर्नेछ। उक्त खेलाडी खेल पुनः सुरु भएपछि एक मिनेटसम्म मैदानबाहिर रहनेछ। बाहिर पठाइने खेलाडीको नाम पनि पहिले नै तोक्नुपर्नेछ।
खेलाडीहरूबीच हुने प्रत्येक शारीरिक सम्पर्कलाई फाउल मानेर खेल रोक्ने प्रवृत्तिमा पनि कमी ल्याउने प्रयास गरिएको छ।
स्पष्ट रूपमा नियम उल्लंघन नभएको अवस्थामा खेललाई निरन्तरता दिने नीति अपनाइनेछ। यसबाट खेलको स्वाभाविक गति कायम राख्न सहयोग पुग्ने अपेक्षा छ।
अफसाइड निर्णयलाई छिटो र प्रभावकारी बनाउन सेमी–अटोमेटेड अफसाइड प्रविधिको प्रयोगलाई पनि निरन्तरता दिइनेछ।
नयाँ सिजनका लागि केही प्रस्तावित परिवर्तन भने लागू नगरिने भएका छन्। गल्तीवश दिइएको कर्नर किकलाई भीएआरले सच्याउने व्यवस्था हुने छैन।
त्यस्तै, तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम हुँदा छुट्टै पानी पिउने ब्रेक दिने व्यवस्था पनि ल्याइएको छैन। मुख छोपेर बोलेको आधारमा मात्र रातो कार्ड दिने नयाँ प्रावधानसमेत लागू हुने छैन।
एकपटक मात्र पाएको पहेँलो कार्डमा भीएआरले समीक्षा गर्ने व्यवस्था पनि गरिएको छैन।
समग्रमा नयाँ नियमको उद्देश्य समय खेर जाने अवस्था घटाउने, खेलको गति बढाउने र अनावश्यक रूपमा खेल रोकिने क्रम कम गर्ने रहेको छ।
