टिकटमा रविको नयाँ फर्मुला, खुल्यो ‘क्यान्डिडेट क्लब’
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।
पार्टीले सोमबार सभापति रवि लामिछानेको उपस्थितिमा ‘क्यान्डिडेट क्लब’ घोषणा गर्दै स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको हो।
रास्वपाले पहिलो चरणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य पदका लागि मात्रै आवेदन आह्वान गरेको छ। पार्टीका अनुसार ४६० गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, ३ हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्य पदका लागि आवेदन दिन सकिनेछ।
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहित केही पदका लागि भने तत्काल आवेदन खुलाइएको छैन। रास्वपाका अनुसार स्थानीय तहमा उम्मेदवारको संख्या ठूलो रहेकाले सबै पदमा एकैपटक प्रक्रिया अघि बढाउन कठिन हुने भएपछि चरणबद्ध रूपमा उम्मेदवार छनोट गर्ने नीति लिइएको हो।
क्यान्डिडेट क्लब घोषणा गर्दै सभापति रवि लामिछानेले शक्ति, पहुँच र पैसाको प्रभावमा उम्मेदवार बन्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने दाबी गरेका छन्।
उनले पार्टीभित्र आफूखुसी कसैलाई उम्मेदवार घोषणा गर्ने, टिकटको आश्वासन दिने वा पद बाँड्ने गतिविधि अब स्वीकार्य नहुने स्पष्ट पारे। लामिछानेले विगतमा कोठा वा कार्यक्रममा बसेर आफूअनुकूल व्यक्तिलाई उम्मेदवार घोषणा गर्ने अभ्यास भए पनि क्यान्डिडेट क्लब सुरु भएसँगै त्यस्ता अनौपचारिक दाबी स्वतः खारेज हुने बताएका छन्।
उनका अनुसार उम्मेदवार छनोटमा निश्चित विधि र प्रक्रिया अपनाइनेछ। यसले पार्टीभित्रको पहुँच, व्यक्तिगत सम्बन्ध वा आर्थिक प्रभावभन्दा योग्यताका आधारमा उम्मेदवार छनोट गर्ने रास्वपाको दाबीलाई बल पुग्ने अपेक्षा गरिएको छ।
लामिछानेले पार्टीको महाधिवेशनपछि संगठनभित्रको समायोजन प्रक्रिया पूरा भइसकेको भन्दै अब रास्वपामा गुट तथा उपगुट नरहेको दाबी गरेका छन्।
उनले पार्टीमा एउटै नेतृत्व र एउटै संगठनात्मक संरचना रहेको उल्लेख गर्दै आफूलाई कुनै गुट विशेषको नेता वा कार्यकर्ता भनेर चिनाउने प्रयासबाट पार्टीले कुनै लाभ नपाउने बताए। उनका अनुसार महाधिवेशनमार्फत संगठनभित्रको समायोजन प्रक्रिया टुंग्याइसकिएको छ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पनि यही संगठनात्मक संरचनाअनुसार प्रक्रिया अघि बढाउने पार्टीको तयारी छ।
रास्वपाले यसअघि पनि क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमीको अवधारणा अघि सारेको थियो। तर तत्कालीन राजनीतिक परिस्थितिका कारण त्यो प्रणाली पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको पार्टी नेतृत्वले स्वीकार गरेको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवार छनोटको स्पष्ट संरचना तयार नभइसकेकाले प्राथमिक निर्वाचनको विधि अपनाइएको महामन्त्री विपिनकुमार आचार्यको भनाइ छ।
त्यसपछि पार्टीले उम्मेदवार छनोटका लागि क्यान्डिडेट क्लब, लिडरशिप एकेडेमी र अन्य प्रक्रियाको अवधारणा अघि बढाएको थियो। तर प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि सबै पदमा एउटै प्रणाली लागू गर्न नसकिएको पार्टीले जनाएको छ।
महामन्त्री आचार्यका अनुसार समानुपातिकतर्फ उम्मेदवार छनोटमा पार्टीले निश्चित विधि अपनाउन सफल भए पनि प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा सबै पक्षलाई समेट्नुपर्ने भएकाले त्यही प्रक्रिया पूर्ण रूपमा लागू गर्न कठिन भएको थियो।
रास्वपाले पारदर्शी र प्रतिस्पर्धात्मक उम्मेदवार छनोटको दाबी गरे पनि विगतका प्रक्रियामाथि पार्टीभित्रै प्रश्न उठेका थिए।
प्राथमिक निर्वाचनमा लोकप्रिय मत पाएका व्यक्तिलाई पन्छाएर शक्ति र पहुँचका आधारमा उम्मेदवार छनोट गरिएको आरोप नेतृत्वमाथि लागेको थियो। क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमीमा प्राप्त मत तथा छनोट प्रक्रियाको विवरण पारदर्शी रूपमा सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि व्यक्त भएको थियो।
त्यसैगरी उम्मेदवार बन्न आवेदन दिँदा लिइएको शुल्क, अन्तिम छनोटको आधार र प्राथमिक निर्वाचनको परिणामलाई लिएर पनि नेतृत्वको आलोचना भएको थियो। केही असन्तुष्ट व्यक्तिहरूले पार्टी नेतृत्वले आफूअनुकूल उम्मेदवारलाई प्राथमिकता दिएको आरोपसमेत लगाएका थिए।
यस्ता आरोपका कारण यसपटक सुरु गरिएको क्यान्डिडेट क्लबलाई रास्वपाका लागि आफ्नो उम्मेदवार छनोट प्रणालीलाई विश्वसनीय बनाउने अवसरका रूपमा हेरिएको छ।
रास्वपाले पहिलो चरणमै सबै स्थानीय तहका लागि आवेदन नखोल्नुका पछाडि उम्मेदवारको संख्या ठूलो हुनु प्रमुख कारण रहेको जनाएको छ।
महामन्त्री आचार्यका अनुसार स्थानीय तहमा हजारौँ पदमा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई एउटै चरणमा समेट्दा संगठनात्मक तथा प्राविधिक व्यवस्थापन कठिन हुने देखिएको थियो।
यस विषयमा गाउँपालिकाबाट सुरु गर्ने कि नगरपालिकाबाट, अथवा प्रदेशगत रूपमा प्रक्रिया अघि बढाउने भन्नेबारे पार्टीभित्र विभिन्न विकल्पमा छलफल भएको थियो। अन्ततः पहिलो चरणमा गाउँपालिकाका उम्मेदवार छनोट गर्ने निर्णय गरिएको आचार्यले बताएका छन्।
उनका अनुसार बाँकी नगरपालिकाका लागि पनि आवेदन खुलाउने प्रक्रिया छिट्टै अघि बढाइनेछ।
रास्वपाले उम्मेदवार छनोटमा नयाँ प्रक्रिया लागू गरे पनि सबै उम्मेदवार स्वतः क्यान्डिडेट क्लबबाट मात्रै छनोट हुने व्यवस्था नरहेको जनाएको छ।
महामन्त्री आचार्यका अनुसार उम्मेदवार छनोटको रुपरेखामा आवश्यकताअनुसार निश्चित प्रतिशत उम्मेदवार केन्द्रीय समितिले छनोट गर्न सक्ने प्रावधान कायमै छ। करिब १५ प्रतिशतसम्म उम्मेदवार केन्द्रीय समितिले छनोट गर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ।
यसले उम्मेदवार छनोटमा पूर्ण रूपमा खुला प्रतिस्पर्धा र पार्टी नेतृत्वको निर्णयबीच सन्तुलन कायम गर्ने प्रयास गरिएको देखिन्छ।
रास्वपाले स्थानीय तह निर्वाचनको तयारी चितवनमा भएको पहिलो महाधिवेशनअघि नै सुरु गरेको थियो। साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १ गतेदेखि स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई क्यान्डिडेट क्लबमार्फत आवेदन खुलाउने निर्णय गरेको थियो।
यसअघि उपनिर्वाचनलाई लक्षित गरेर पनि यही विधि प्रयोग गर्ने तयारी गरिएको थियो। तर त्यसपछि देशको राजनीतिक परिस्थितिमा आएको परिवर्तनका कारण निर्वाचनसम्बन्धी योजना नै फेरिएको पार्टीको भनाइ छ।
पार्टीले विशेष राजनीतिक परिस्थितिमा भएको निर्वाचनका कारण पहिले तय गरिएका संगठनात्मक र उम्मेदवार छनोटका योजनाहरू पूर्ण रूपमा लागू गर्न नसकेको बताउँदै आएको छ।
क्यान्डिडेट क्लबमार्फत रास्वपाले स्थानीय तहमा नयाँ पुस्ता, विज्ञ, दक्ष र ऊर्जाशील व्यक्तिलाई उम्मेदवार बनाउने दाबी गरेको छ। तर पार्टीले विगतमा उठेका पारदर्शिता र पहुँचका आरोपलाई व्यवहारबाटै चिर्नुपर्ने चुनौती भने कायमै छ।
आवेदन संकलनदेखि अन्तिम उम्मेदवार छनोटसम्मको प्रक्रिया कति खुला हुन्छ, प्राथमिकताका आधार के हुन्छन्, प्राप्त मत तथा मूल्यांकन कसरी सार्वजनिक गरिन्छ र नेतृत्वको हस्तक्षेप कति हुन्छ भन्ने विषयले क्यान्डिडेट क्लबको विश्वसनीयता निर्धारण गर्नेछ।
