`

ट्रम्प-किम संवादका लागि सैन्य अभ्यास छोट्याइयो

Nepal One HD ३ भदौ २०८३ ११:५३
फिचर

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पुनः संवादमा ल्याउने प्रयास अघि बढाएपछि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा चार दिनअघि नै अन्त्य गर्ने भएका छन्।

दुवै देशका अधिकारीहरूले बुधबार अभ्यासको अवधि छोट्याउनुका साथै केही संयुक्त क्षेत्रीय सैन्य प्रशिक्षणसमेत घटाउने सहमति भएको बताएका छन्। यस निर्णयले ट्रम्प र किमबीच पुनः संवादको सम्भावना बढाउन सक्ने भए पनि अमेरिका-दक्षिण कोरिया सुरक्षा गठबन्धनको सैन्य तयारी कमजोर हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको ११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ सैन्य अभ्यास आगामी अगस्ट २७ सम्म सञ्चालन गर्ने योजना बनाएका थिए। तर अमेरिकी आग्रहपछि अभ्यास शुक्रबार नै समाप्त गरिने दक्षिण कोरियाली सेनाले जनाएको छ।

दुवै पक्षले संयुक्त रक्षा क्षमता कायम राख्दै अभ्यासका उद्देश्य पूरा गर्न वैकल्पिक प्रशिक्षण तथा अन्य उपाय कार्यान्वयन गर्ने बताएका छन्।

ट्रम्पले अभ्यास सुरु हुनुअघि नै आफ्ना रक्षा प्रमुखलाई सहयोगी मुलुकहरूसँग हुने ग्रीष्मकालीन सैन्य अभ्यासको आकार ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिएका थिए। उनले उत्तर कोरियाली नेता किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहभागी हुन अस्वीकार गरेको विषयलाई पनि अभ्यास घटाउने निर्णयसँग जोडेको बताइएको छ।

‘उल्ची फ्रिडम सिल्ड’ मुख्यतः कम्प्युटरमा आधारित कमान्ड पोस्ट अभ्यास हो। उत्तर कोरियाबाट सम्भावित आक्रमण भएमा अमेरिका र दक्षिण कोरियाली सेनाले संयुक्त रूपमा कसरी प्रतिकार गर्ने भन्ने क्षमता विकास गर्नु यसको प्रमुख उद्देश्य हो।

अभ्यासका क्रममा दुवै देशले संयुक्त तथा छुट्टाछुट्टै रूपमा विभिन्न सैन्य प्रशिक्षणसमेत सञ्चालन गर्दै आएका छन्। सन् १९५०–५३ को कोरियाली युद्धपछि विकसित अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धनको प्रमुख आधारका रूपमा यस्ता संयुक्त सैन्य अभ्यासलाई लिइन्छ।

तर उत्तर कोरियाले भने लामो समयदेखि यस्ता अभ्यासको विरोध गर्दै आएको छ। उसले संयुक्त सैन्य अभ्यासलाई आफूविरुद्ध सम्भावित आक्रमणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै आएको छ। यस्ता अभ्यासपछि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने गरेको इतिहाससमेत छ।

यसपटकको अभ्यास सुरु हुनुभन्दा केही दिनअघि पनि उत्तर कोरियाले समुद्रतर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

यसपटकको ‘उल्ची फ्रिडम सिल्ड’ दुई चरणमा सञ्चालन गर्ने योजना थियो। पहिलो चरणमा शुक्रबारसम्म उत्तर कोरियाली आक्रमणको सम्भावित अवस्थाको अनुकरण गर्दै रक्षात्मक कारबाहीको अभ्यास गर्ने तयारी थियो।

दोस्रो चरणमा भने अगस्ट २७ सम्म सम्भावित प्रतिआक्रमणसम्बन्धी गतिविधिको अभ्यास गर्ने योजना थियो। उत्तर कोरिया विशेषगरी यस्ता प्रतिआक्रमणसम्बन्धी सैन्य अभ्यासप्रति संवेदनशील मानिन्छ।

अमेरिकी आग्रहपछि अभ्यास छोट्याउने निर्णयले विशेषगरी दोस्रो चरणका केही गतिविधि प्रभावित हुने अपेक्षा गरिएको छ।

उत्तर कोरियाले ट्रम्पको पछिल्लो टिप्पणीबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि सरकारी समाचार संस्था केसीएनएले बुधबार अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासको आलोचना गरेको छ।

केसीएनएले अभ्यासलाई ‘उन्मत्त’ र ‘अत्यन्त खतरनाक’ गतिविधिका रूपमा चित्रण गर्दै यस्ता सैन्य गतिविधिले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको दाबी गरेको छ।

उत्तर कोरियाले आफ्नो सुरक्षामाथि खतरा बढेमा प्रतिरक्षाको अधिकार प्रयोग गर्दै विरोधीको सैन्य क्षमतालाई निष्क्रिय पार्ने चेतावनीसमेत दिएको छ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम विस्तार गरिरहेको तथा रुससँग सैन्य सहकार्य बढाइरहेको अवस्थामा किम जोङ उनले ट्रम्पको पछिल्लो संवाद प्रस्ताव तत्काल स्वीकार गर्ने सम्भावना कम छ।

विश्लेषकहरूले उत्तर कोरियाले वार्तामा फर्कनुअघि अमेरिकाबाट महत्वपूर्ण सहुलियतको सुनिश्चितता खोज्न सक्ने बताएका छन्।

ट्रम्प र किमबीच यसअघि सन् २०१८ र २०१९ मा तीनपटक प्रत्यक्ष भेटवार्ता भएको थियो। तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम सीमित वा अन्त्य गर्ने व्यापक कदमको बदलामा अमेरिकाले प्रतिबन्ध हटाउनुपर्ने माग गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेन।

किमले गत वर्ष ट्रम्पको अघिल्लो संवाद प्रयासप्रति प्रतिक्रिया दिँदै अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरणलाई वार्ताको पूर्वसर्त नबनाए संवादमा फर्कन सकिने सङ्केत गरेका थिए।

दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको कार्यालयले सोमबार ट्रम्प र किमबीच रहेको ‘मैत्रीपूर्ण सम्बन्ध’ ले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न अमेरिका र दक्षिण कोरियाबीच अर्थपूर्ण संवादको वातावरण निर्माण हुने आशा व्यक्त गरेको थियो।

तर दक्षिण कोरियाका रूढीवादी राजनीतिक समूहहरूले भने ली सरकारमाथि सुरक्षा चिन्ताभन्दा ट्रम्प–किम कूटनीति पुनः सुरु गर्ने विषयलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *