`

‘४० लाख सिलिन्डर भित्रिँदा पनि ग्यासको हाहाकार किन?’

Nepal One HD ३ भदौ २०८३ १४:५०
अर्थ समाचार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बजारमा एलपी ग्यासको आपूर्ति बढेको तथ्याङ्क हुँदाहुँदै पनि उपभोक्ताले अभाव झेल्नुपरेको भन्दै सरकारसँग प्रश्न गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकमा सांसदहरूले वैशाखको तुलनामा साउनमा ग्यासको आपूर्ति उल्लेख्य रूपमा बढेको देखिए पनि बजारमा अभाव किन कायम रह्यो भन्ने विषय उठाएका हुन्।

सांसदहरूले वैशाखमा बजारमा करिब २२ लाख सिलिन्डर ग्यास आपूर्ति भएकोमा साउनमा उक्त मात्रा बढेर करिब ४० लाख सिलिन्डर पुगेको तथ्याङ्क प्रस्तुत गर्दै आपूर्ति बढेको अवस्थामा समेत उपभोक्ताले ग्यास नपाउनुको कारणबारे प्रश्न गरेका थिए।

बैठकमा ग्यास अभावका कारण उपभोक्ताले भोगिरहेको समस्या, आपूर्ति प्रणालीमा देखिएका कमजोरी तथा बजार व्यवस्थापनबारे सांसदहरूले मन्त्रीहरूसँग जानकारी मागेका थिए।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार मन्त्रीहरूले ग्यास अभाव हुनुका प्राविधिक तथा व्यवस्थापकीय कारणबारे सांसदहरूलाई जानकारी गराएका थिए। साथै, समस्या समाधानका लागि सरकारले गरिरहेको पहल र आगामी योजनाबारे पनि मन्त्रीहरूले बैठकमा जानकारी दिएका थिए।

ग्यासको आपूर्ति र वितरण प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्नेमा बैठकमा जोड दिइएको थियो। सांसदहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध रहेको भनिए पनि उपभोक्ताले बिक्री केन्द्रमा खाली सिलिन्डर लिएर पुग्दा ग्यास नपाउने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकले रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।

संसदीय दलका प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरिएको उपनेता पराजुलीले जानकारी दिए। कार्यदललाई सात दिनभित्र विधान संशोधनको प्रस्तावसहित आवश्यक प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ।

समयअनुकूल रूपमा संसदीय दलको कामकारबाहीलाई व्यवस्थित बनाउन विधान संशोधन गर्न लागिएको रास्वपाले जनाएको छ।

संशोधित विधानमार्फत सांसदहरूको जिम्मेवारी थप स्पष्ट पार्ने, संसद् बैठकमा उपस्थित हुँदा संसदीय मर्यादा र अनुशासन कायम गराउने तथा सांसदहरूलाई जनताका विषय संसद्मा प्रभावकारी रूपमा उठाउन थप सक्रिय बनाउने उद्देश्य राखिएको छ।

त्यस्तै, कानुन निर्माण प्रक्रियामा सांसदहरूको भूमिका प्रभावकारी बनाउने र संसदीय दलको कामलाई थप व्यवस्थित गर्ने विषयलाई पनि विधान संशोधनमा समेटिने बताइएको छ।

बैठकमा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भएका काम, प्रगति तथा पछिल्ला गतिविधिबारे संसदीय दललाई जानकारी गराएका थिए।

मन्त्रीहरूको विवरणपछि सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्या र जनताबाट प्राप्त गुनासाबारे जानकारी गराएका थिए। उनीहरूले सरकारका कामकारबाहीमा देखिएका कमजोरी तथा सुधार गर्नुपर्ने पक्षबारे समेत धारणा राखेका थिए।

विशेषगरी सरकारका निर्णय र कामको प्रभाव जनतासम्म कसरी पुगेको छ भन्ने विषयमा बैठकमा समीक्षा गरिएको थियो।

उपनेता पराजुलीका अनुसार सरकारले विभिन्न क्षेत्रमा काम गरिरहेको भए पनि त्यसको प्रभावकारी जानकारी र सन्देश आम नागरिकसम्म पुग्न नसकेको विषयमा आत्मसमीक्षा गरिएको थियो।

बैठकमा सरकारका कामलाई जनतासँग प्रत्यक्ष जोड्ने, सांसदहरूको भूमिकालाई थप प्रभावकारी बनाउने र जनताका गुनासा तथा समस्यालाई सरकारसम्म पुर्‍याएर समाधानको पहल गर्ने विषयमा समेत छलफल भएको थियो।

ग्यास अभावजस्तो प्रत्यक्ष रूपमा नागरिकको दैनिक जीवनसँग जोडिएको विषयलाई संसदीय दलको बैठकमा प्राथमिकताका साथ उठाइनुले रास्वपाभित्र सरकारको सेवा प्रवाह र बजार व्यवस्थापनबारे पनि चासो बढेको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *