जाजरकोटका पहिरोपीडितलाई तत्काल उद्धार र राहत दिन सांसद विकको माग
काठमाडौं। नेकपा सांसद पार्वती विकले जाजरकोटमा हालै गएको पहिरोबाट प्रभावित नागरिकहरू बिचल्लीमा परेको भन्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद विकले पहिरो प्रभावित नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व भए पनि सरकारले उनीहरूको समस्याप्रति पर्याप्त ध्यान नदिएको आरोप लगाइन्।
उनका अनुसार पहिरोबाट प्रभावित ८२४ जनालाई तीनवटा होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये केही घाइते रहेको र बालबालिकाले समेत विद्यालय जान पाउने अवस्था नरहेको उनले बताइन्।
‘८२४ जनालाई तीन वटा होल्डिङ सेन्टरमा राखिएको छ,’ विकले भनिन्, ‘त्यहाँ घाइते पनि छन्, बच्चाबच्ची स्कुल जान पाएका छैनन् । प्लास्टिकको पालभित्र बस्नुपरेको छ । ६ सुत्केरी र ५ गर्भवती छन्।’
पहिरो प्रभावितमध्ये सुत्केरी र गर्भवती महिलासमेत अस्थायी तथा असुरक्षित अवस्थामा बस्न बाध्य भएको उल्लेख गर्दै उनले उनीहरूका लागि तत्काल स्वास्थ्य, खाद्यान्न, सुरक्षित आवासलगायत आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्ने बताइन्।
विकले होल्डिङ सेन्टरमा रहेका प्रभावितबाहेक अन्य कतिपय नागरिकसमेत आफन्तको घरमा शरण लिएर बस्न बाध्य भएको जानकारी दिइन्। प्राकृतिक विपत्तिबाट विस्थापित नागरिकको अवस्था दिनप्रतिदिन कठिन बन्दै गए पनि सरकार गम्भीर नदेखिएको उनको आरोप थियो।
उनले सरकारसँग नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्ने संवैधानिक तथा मानवीय दायित्व रहेको स्मरण गराउँदै तत्काल प्रभावित क्षेत्रमा राज्यको उपस्थिति देखाउन माग गरिन्।
‘यस्तो अवस्थामा नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो कि होइन, वा उनीहरूलाई त्यही पहिरोमा परेर मर्न दिनुपर्ने हो वा उद्धार गर्नुपर्ने हो ?’ उनले प्रश्न गरिन्।
सांसद विकले पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै घाइतेको उपचार, गर्भवती तथा सुत्केरी महिलाको विशेष स्वास्थ्य हेरचाह र बालबालिकाको शिक्षालाई निरन्तरता दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।
उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराएर दीर्घकालीन रूपमा सुरक्षित आवास तथा पुनःस्थापनाको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेकी छन्।
