पूर्ववडाध्यक्ष किरण थापा मगर हुँदैछन् मुख्यमन्त्री
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर आज नियुक्त हुँदैछन् । यसअघि प्रदेशको स्वास्थ्यमन्त्री भइसकेका मगरले अब प्रदेश सरकारको नेतृत्व सम्हाल्ने भएका हुन् ।
भक्तपुर–२ को प्रदेश (क)बाट निर्वाचित मगर उनको दल एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष उनले बुधबार नै मुख्यमन्त्रीमा बहुमतसहित दाबी पेस गरेका छन् । स्थानीय तहमा वडाध्यक्ष हुँदै प्रदेश संसद पुगेका मगर पहिलोपटकमै मुख्यमन्त्री बन्ने भएका हुन् ।
उनी सामाजिक क्षेत्रबाट राजनीतिमा आएका नेतृत्व हुन् । उनले नेपालवानएचडीसँग भनेका छन्, ‘समृद्ध बागमती बनाउने ऐतिहासिक कार्यभार पूरा गर्न तयार छु ।’
आज मुख्यमन्त्री नियुक्त भए मगरले ३० दिनभित्र प्रदेश संसदमा विश्वासको मत लिनुपर्छ । उनको कार्यकाल करिब एक वर्षको हुने छ । किनभने प्रदेश सभाको निर्वाचन आगामी २०८४ मा हुने छ ।
