`

सजाय छल्दै भागेका ६७ जना पक्राउ

Nepal One HD ४ भदौ २०८३ १३:३४
प्रमुख खबर

पोखरा। कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान नगरी फरार रहेका ६७ जना प्रतिवादीलाई साउन महिनामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५८ पुरुष र नौ महिला छन्।

अदालतको फैसलापछि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट आठ वर्ष सात महिना ११ दिन बराबरको कैद सजाय कार्यान्वयन हुने भएको छ। उनीहरूबाट ३७ लाख ९६ हजार ५२० रुपैयाँ बिगो तथा जरिवानासमेत असुलउपर भएको छ।

चेक अनादर, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान, अभद्र व्यवहारलगायत विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

अदालतबाट फैसला भइसकेपछि पनि सजाय भुक्तान नगरी फरार हुने प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानलाई प्रहरीले पछिल्लो समय तीव्र बनाएको छ। त्यसअन्तर्गत साउन महिनामा मात्रै ६७ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।

यसअघि पनि प्रहरीले चालु मुद्दामा फरार रहेका १८१ जनालाई पक्राउ गरेको जनाएको छ। फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै अदालतको फैसला कार्यान्वयनमा सहयोग पुर्‍याउने प्रहरीको भनाइ छ।

यसैबीच कास्कीमा साउन महिनामा अपराधसँग सम्बन्धित १६८ वटा मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये २० वटा जघन्य तथा गम्भीर प्रकृतिका अपराधसँग सम्बन्धित छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १३ वटा मुद्दा दर्ता भएका छन्।

त्यस्तै आर्थिक अपराधतर्फ ५३ वटा मुद्दा दर्ता भएका छन् भने अन्य प्रकृतिका अपराधसँग सम्बन्धित ८२ वटा मुद्दा दर्ता भएका छन्।

फरार प्रतिवादी पक्राउसँगै नयाँ अपराधका मुद्दाको अनुसन्धान तथा कानुनी कारबाहीलाई समेत प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ।

अदालतबाट दोषी ठहर भएका व्यक्तिले सजाय भुक्तान नगरी फरार हुने अवस्था अन्त्य गर्न पक्राउ अभियानलाई थप प्रभावकारी बनाउने प्रहरीको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *