‘जय नेपाल पार्टी’को राजनीतिक मार्गचित्र सार्वजनिक
काठमाडौं । डा. धवल शम्शेर राणाको नेतृत्वमा नवगठित ‘जय नेपाल पार्टी’ले आफ्नो राजनीतिक मार्गचित्र र प्राथमिकता सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगमा गत साउन २९ गते दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई आफ्नो मुख्य राजनीतिक आधार बनाएको जनाएको हो ।
पार्टीले नेपाललाई हिन्दू, बौद्ध र किराँतलगायत सनातन परम्परा बोकेको अधिराज्यका रूपमा पुनःस्थापना गर्ने लक्ष्य अघि सारेको छ । राष्ट्रिय एकता कायम गर्दै राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको आवश्यकता रहेको पार्टीको निष्कर्ष छ ।
त्यसैगरी बहुदलीय प्रजातान्त्रिक अभ्यास, विधिको शासन र सुशासनमार्फत मुलुकको आर्थिक तथा सामाजिक समुन्नति हासिल गर्ने उद्देश्य पार्टीले अघि सारेको छ ।
‘जय नेपाल पार्टी’ले देशको सर्वाङ्गीण विकासका लागि १२ बुँदे प्राथमिकता अघि सारेको जनाएको छ । पार्टीले आफ्नो निर्वाचन चिह्न ‘त्रिकोण’ले हिमाल, पहाड र तराईबीचको एकता, स्थिरता र समुन्नतिको प्रतिनिधित्व गर्ने व्याख्या गरेको छ ।
पार्टीका अनुसार पछिल्लो राजनीतिक परिवेशमा स्वार्थकेन्द्रित प्रवृत्ति बढ्दै गएको र राष्ट्रवादी विचारप्रति अविश्वास सिर्जना गर्ने प्रयास भइरहेको छ । यस्तो प्रवृत्तिलाई चुनौती दिन राष्ट्रवादी तथा सुशासन पक्षधर नागरिकलाई पार्टीमा संगठित हुन आह्वान गरिएको छ ।
पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारको तयारी अघि बढाएको छ । त्यसका लागि ७७ वटै जिल्लामा संगठन निर्माण र विस्तारलाई तीव्रता दिने जनाएको छ ।
संवैधानिक राजसंस्था र सनातन धर्ममा विश्वास राख्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न चाहने तथा सुशासनका पक्षमा रहेका नागरिकलाई पार्टीमा आबद्ध हुन र आगामी निर्वाचनमा उम्मेदवार बन्न पार्टीले आह्वान गरेको छ ।
पहिलो केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति डा. धवल शम्शेर राणाले नयाँ पार्टीमार्फत नयाँ राजनीतिक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पार्टीले घोषणापत्र र राजनीतिक दस्तावेजमा उल्लेख गरेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्ने दाबी गर्दै नयाँ राजनीतिक अभिभारा पूरा गर्न सबैको साथ आवश्यक रहेको बताए ।
