‘डोजर आतंक’ले विस्थापितलाई पुनःस्थापना गर्न सुकुम्बासीको खबरदारी [तस्वीरहरू]
काठमाडौं। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक-अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा खबरदारी र्याली निकालिएको छ ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्याली निकालिएको हो ।
र्यालीमा सहभागीहरूले भूमिहीन तथा सुकुम्बासीको उचित व्यवस्थापन, मानवअधिकारको संरक्षण र सरकारले सञ्चालन गर्ने विस्थापन तथा हटाउने अभियानका क्रममा प्रभावित भएकाहरूको पुनःस्थापनाको माग गरेका थिए ।
प्रदर्शनकारीहरूले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’ र ‘सुकुम्बासीको व्यवस्थापन के गरिस् ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
आन्दोलनरत पक्षले सरकारी जग्गा तथा सार्वजनिक स्थानबाट हटाउने क्रममा विस्थापित भएका नागरिकको उचित व्यवस्थापन नगरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।
उनीहरूले डोजर चलाउने क्रममा विस्थापित वा प्रभावित भएर ज्यान गुमाएका नागरिकलाई भूमिअधिकार आन्दोलनका सहिद घोषणा गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।
आन्दोलनरत पक्षका अनुसार सरकारको ‘डोजर अभियान’का क्रममा हालसम्म नौ जनाले ज्यान गुमाएका छन् ।
उनीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या बल प्रयोगबाट नभई दीर्घकालीन नीति र उचित व्यवस्थापनमार्फत समाधान गर्न सरकारसँग माग गरेका छन् ।












