उद्धव थापामाथिको कारबाही हतारमा र जबरजस्ती गरियो : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले बागमती प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति असहमति जनाएका छन् । उनले पार्टीले पर्याप्त छानबिन नगरी हतारमा कारबाहीको निर्णय गरेको आरोप लगाए ।
बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कमल थापाले उद्धव थापामाथिको कारबाही पार्टीको विधि, विधान र पद्धतिअनुसार नभएको दाबी गरे ।
उनका अनुसार कारबाही गर्नुअघि विगतमा भएका घटनाक्रम, कमजोरी र निर्णयहरूको समग्र अध्ययन गर्न निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव राखिएको थियो । तर उक्त प्रस्तावमाथि पर्याप्त छलफल नगरी कारबाहीको निर्णय गरिएको उनको भनाइ छ ।
कमल थापाले आफू र केही अन्य नेताले कारबाहीको निर्णयप्रति लिखित रूपमा फरक मत राखेको जानकारी दिए ।
उनले बागमती प्रदेशमा सरकार गठनका क्रममा केन्द्रबाट स्पष्ट निर्देशन आउन नसकेको र प्रदेश संसदीय दलले लामो समयसम्म पार्टी नेतृत्वको निर्णय कुरेको दाबी गरे । केन्द्रबाट निर्देशन नआएपछि बहुमत प्रदेशसभा सदस्यको निर्णयका आधारमा अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
उद्धव थापामाथि पार्टीको निर्णयविपरीत बागमती प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोपमा कारबाही गरिएको हो । राप्रपाले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउने तथा पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।
कमल थापाले पार्टीभित्र देखिएका विवादलाई अनुशासनको कारबाहीबाट मात्र समाधान गर्न खोज्दा समस्या थप जटिल बन्न सक्ने चेतावनी दिए । पार्टी संकटमा रहेका बेला नेता तथा कार्यकर्तामाथि लगातार कारबाही गर्दै जाने प्रवृत्तिले संगठन कमजोर हुने उनको दाबी थियो ।
उनले विगतका निर्णय र पार्टी सञ्चालनका क्रममा भएका कमजोरीको समेत निष्पक्ष समीक्षा गरी त्यसका आधारमा आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए ।
