दुई दिनदेखि बेपत्ता बालक सकुशल भेटिए
नवलपरासी। गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि बेपत्ता भएका साढे दुई वर्षीय बालक शिवान तामाङलाई प्रहरीले सकुशल उद्धार गरेको छ । बालकलाई बिहीबार बिहान भागर खोलाको सिरानस्थित शंखदेवी सामुदायिक वन क्षेत्रबाट फेला पारिएको हो ।
भागर निवासी हेमकुमारी आले च्याउ टिप्न स्थानीय शंखदेवी सामुदायिक वनमा गएकी थिइन् । घर फर्किएपछि नाति शिवान घरमा नभेटिएपछि परिवार र स्थानीयले आसपासका क्षेत्रमा खोजी सुरु गरेका थिए ।
लामो समयसम्म खोजी गर्दा पनि बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो । खोजीमा स्थानीय बासिन्दासमेत सहभागी भएका थिए ।
प्रहरी टोलीले सामुदायिक वनको माथिल्लो भाग हुँदै भागर खोलाको सिरान क्षेत्रमा खोजी गर्ने क्रममा बालकलाई फेला पारेको हो । उद्धारपछि बालकलाई आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
बालक सकुशल भेटिएपछि परिवार र स्थानीयले राहत महसुस गरेका छन् । घटनापछि प्रहरीले बालक हराएको क्षेत्र तथा आसपासका स्थानमा खोजीलाई प्राथमिकताका साथ अघि बढाएको थियो ।
