`

बागमतीमा मन्त्रीले लिए शपथ

Nepal One HD ४ भदौ २०८३ १८:१७
बिशेष

काठमाडौं। बागमती प्रदेश सरकारमा ६ जना मन्त्री नियुक्त भएका छन् । नव नियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूले बिहीबार प्रदेश प्रमुख देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री थापाले एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई सरकारमा सहभागी गराएका छन् ।

मन्त्रालयको जिम्मेवारी बाँडफाँटअनुसार भरतबहादुर केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै राप्रपाबाट नियुक्त गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । एमालेका ज्ञानबहादुर तामाङ भने विनाविभागीय मन्त्री बनेका छन् ।

बागमती प्रदेशमा आठ मन्त्रालय रहेकामा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री थापाले आफैंसँग राखेका छन् ।

नयाँ मन्त्रीहरूको नियुक्तिसँगै बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रक्रिया अघि बढेको छ।

सत्ता गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालय बाँडफाँट गरेर सरकार विस्तार गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *