अमेरिकी गायिका जेसिका नेपाल आउँदै
काठमाडौं। अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली कलाकारसँग सांगीतिक सहकार्य र प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउने भएकी छन् ।
अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार लिन ‘आर्ट्स एन्ड म्युजिक एन्भोय प्रोग्राम’ अन्तर्गत नेपाल आउन लागेकी हुन् ।
नेपाल भ्रमणका क्रममा लिनले नेपाली कलाकारसँग एउटै मञ्चमा प्रस्तुति दिनेछिन् । उनको पहिचान बनेको कन्ट्री–रक संगीतलाई नेपाली सांगीतिक परम्परासँग जोडेर कार्यक्रम आयोजना गरिने दूतावासले जनाएको छ ।
कार्यक्रमलाई सांगीतिक प्रस्तुतिसँगै कलाकारबीच अनुभव आदानप्रदानको अवसरका रूपमा समेत अघि बढाइने भएको छ । यसले नेपालको उदीयमान सिर्जनात्मक अर्थतन्त्रमा योगदान पुर्याउनुका साथै नेपाली तथा अमेरिकी कलाकारबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।
दूतावासका अनुसार कार्यक्रममार्फत नेपाल र अमेरिकाबीच सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य राखिएको छ ।
कार्यक्रममा सहभागी हुन निःशुल्क दर्ता गर्न सकिनेछ । दर्ता प्रक्रिया, कार्यक्रमको मिति, स्थान र कन्सर्टसम्बन्धी थप विवरण पछि सार्वजनिक गरिने दूतावासले जनाएको छ ।
