फुजी चढ्न बुबाले ७ वर्षीय छोरा बाटोमै छाडेपछि प्रहरीको चेतावनी
टोकियो। जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय छोरालाई घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापरबाहीप्रति चेतावनी दिएको छ ।
शिजुओका प्रान्तको प्रहरीले बिहीबार माउन्ट फुजीको आरोहण मार्गमा एक्लै रहेका बालकलाई फेला पारी संरक्षणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यम एसबीएस टिभीका अनुसार आरोहणका क्रममा बालकले आफू थाकेको बताएपछि उनका बुबाले उनलाई समुद्री सतहबाट दुई हजार मिटरभन्दा बढी उचाइमा रहेको छैटौँ स्टेसनमा पर्खन भनेका थिए । त्यसपछि उनी जेठा छोरासँगै आरोहणलाई निरन्तरता दिएका थिए ।
टिभी असाहीका अनुसार बालकलाई खाजा र पेय पदार्थसहित करिब आठ घण्टासम्म त्यहीँ पर्खन भनिएको थियो । उनीसँग पैसा भने थिएन । विश्रामस्थलका कर्मचारीले बालकलाई एक्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले माउन्ट फुजीको आठौँ स्टेसनमा रहेका बुबासँग सम्पर्क गरी बालकलाई उनको जिम्मा लगाएको जनाएको छ ।
प्रहरीका अनुसार बुबाले आफ्नो व्यवहारप्रति माफी माग्दै आफूबाट लापरबाही भएको स्वीकार गरेका छन् । प्रहरीले बालबालिकालाई पहाडी क्षेत्रमा एक्लै छाड्दा जोखिम हुन सक्ने भन्दै अभिभावकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
