देउवा पक्राउ गर्ने तयारीमा सरकार?
काठमाडौं।नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गर्ने तयारी भइरहेको दाबी गरिएको छ।
एक उच्च सरकारी स्रोतका अनुसार आइतबारसम्म उनलाई पक्राउ गर्ने विषयमा सरकारभित्र छलफल भइरहेको हो।
देउवाविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो। तर त्यसैका आधारमा पक्राउ नगर्न सर्वोच्च अदालतले गत जेठमा अन्तरिम आदेश दिएको थियो।
सर्वोच्चले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विशेष अदालतको क्षेत्राधिकारमा पर्ने भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमति निष्क्रिय भएको उल्लेख गरेको थियो।
यद्यपि, नयाँ कानुनी प्रक्रियाबाट पक्राउ गर्न सकिने सम्भावना भने कायमै रहेको कानुनी व्याख्या सार्वजनिक भएको थियो। विशेष अदालतबाट नयाँ पक्राउ पुर्जी जारी भएमा देउवालाई पक्राउ गर्न सकिने अवस्था रहने बताइएको छ।
करिब साढे पाँच महिना विदेश बसेर गत साउन २८ गते नेपाल फर्किएका देउवामाथिको अनुसन्धान त्यसपछि पनि चर्चामा छ।
स्रोतले पक्राउपछि स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना हुने र त्यसपछि बन्दीप्रत्यक्षीकरणमार्फत रिहा हुने योजनासमेत बनाइएको दाबी गरेको छ। तर यस्तो दाबीको स्वतन्त्र पुष्टि भएको छैन।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान अघि बढाएको थियो।
