`

जमिन कटानपछि तारकेश्वरमा पहिरो, ५० घर प्रभावित [तस्वीरहरू]

Nepal One HD ७ भदौ २०८३ ११:०५
फोटोफिचर

काठमाडौं। तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन् ।

पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवतजावतमा समेत समस्या भएको छ ।

स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो । करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य निकै ढिलो गतिमा अघि बढेको स्थानीयको गुनासो छ ।

निर्माणाधीन घरका कारण सडकमा माटो तथा बालुवा थुप्रिँदा हिँडडुल गर्नसमेत कठिन भएको स्थानीयले बताएका छन् । निर्माणस्थलबाट माटो हटाउने तथा सडक सफा गर्ने काम नियमित नभएको उनीहरूको भनाइ छ ।

स्थानीयका अनुसार निर्माणाधीन घर किरण रिजालको हो । निर्माणका क्रममा आवश्यक सावधानी नअपनाउँदा टोलवासीले समस्या भोग्नुपरेको उनीहरूको आरोप छ । उनीहरूले निर्माण पक्षलाई तत्काल माटो हटाउन, सडक व्यवस्थित गर्न तथा पहिरो नियन्त्रणका लागि आवश्यक काम गर्न आग्रह गरेका छन् ।

स्थानीयका अनुसार पहिरो जानुअघि उक्त क्षेत्रमा यस्तो समस्या थिएन । डोजर लगाएर जमिन काटेपछि मात्रै पहिरोको समस्या सुरु भएको उनीहरूको भनाइ छ ।

समस्या समाधानका लागि स्थानीयले जनप्रतिनिधिलाई समेत जानकारी गराउँदै आएका छन् । वडाध्यक्षलाई पटक–पटक पहिरो तथा सडकको अवस्थाबारे तस्बिर र भिडियोसहित जानकारी गराए पनि ठोस पहल हुन नसकेको उनीहरूको गुनासो छ । उपप्रमुखबाट भने समस्या हेर्ने आश्वासन पाएको स्थानीयले बताएका छन् ।

टोल सुधार समितिमार्फत निर्माण पक्षसँग पनि समस्या समाधानका विषयमा छलफल भइरहेको छ । स्थानीयले पहिरो नियन्त्रण तथा सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय र निर्माण पक्षले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *