`

२३ र २४ भदौको जेनजी विद्रोह होइन, विदेशी जासुसी विद्रोह : रवीन्द्र मिश्र

Nepal One HD ७ भदौ २०८३ १३:४९
प्रमुख खबर

काठमाडौं। राजनीतिक टिप्पणीकार रवीन्द्र मिश्रले गत वर्षको २३ र २४ भदौको घटनालाई संसारकै सबैभन्दा सफल ‘विदेशी जासुसी विद्रोह’ भनेका छन् ।

थाहा नभएका अन्तर्राष्ट्रिय जासुसी संस्थाहरूले निर्दोष नेपाली युवाहरूको पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई उनीहरूले समेत थाहै नपाउनेगरी प्रयोग गरी विद्रोह सम्पन्न गरेको मिश्रले बताए ।

तथ्यमा आधारित संसारका केही उत्कृष्ट जासुसी सिनेमा हेरेको, केही विद्रोहबारे पढेको र त्यसपछि सोचविचार गरी २३ र २४ भदौको घटनालाई ‘विदेशी जासुसी विद्रोह’को संज्ञा दिने निर्णयमा पुगेको उनले बताए ।

विगतमा मिश्र २३ भदौको घटनालाई जेनजी विद्रोह भन्थे । २४ भदौको घटनालाई घुसपैठ विद्रोह भन्ने गर्थे । यतिबेला भने उनको धारणामा परिवर्तन भएको हो ।

गत वर्षको २३ भदौमा नेपाली नवपुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण, नातावादको अन्त्य र सामाजिक सञ्जालमा तत्कालीन सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनलाई दलाई लामाको स्वतन्त्र तिब्बत पक्षधर टिबेटान ओर्जिनल ब्लड (टीओबी)ले हिंसात्मक बनाउन प्रदर्शनमा उत्रिएका नवयुवालाई उत्तेजित बनाएको दाबी गरिएको छ ।

केहीबेरमै नयाँ बानेश्वर क्षेत्र युद्धमैदान जस्तो भयो । १९ जना जेनजी ढले । काठमाडौंबाहिर ४ जना गरी २३ जनाको मृत्यु भयो । यही घटनाले २४ भदौमा देश जल्यो ।

तत्कालीन सत्तारुढ दल नेकपा एमालेले अहिले पनि यो घटनालाई नेपाली नवयुवालाई प्रयोग गरेर अमेरिका, नेपाली सेना र टीओबीले गरेको बताउने गरेको छ । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले पनि यसलाई विदेशी विद्रोह भन्ने गरेका छन् ।

कांग्रेस र नेकपाले विद्रोहबारे एक वर्ष भइसक्दा पनि आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । रास्वपाले भने यसलाई युग परिवर्तनको नयाँ अध्यायका रूपमा चित्रण गर्दै आएको छ ।

यस्तो अवस्थामा नेपालमा राजा चाहिन्छ र देशलाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने राजनीतिक टिप्पणीकार रवीन्द्र मिश्रले २३ र २४ भदौको घटनालाई ‘विदेशी जासुसी विद्रोह’ भनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *