`

ट्रम्पले थर्काएपछि इरानले पनि दियो ‘भूकम्पीय’ धम्की

Nepal One HD ७ भदौ २०८३ १४:०९
बिशेष

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दबाबमा पार्न अहिलेसम्मकै कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएपछि तेहरानले अमेरिकाको ‘आर्थिक युद्ध’मा सहभागी हुने देशविरुद्ध प्रतिशोध गर्ने चेतावनी दिएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले अमेरिकाले लगाउने प्रतिबन्धमा साथ दिने कुनै पनि देशलाई शत्रुको व्यवहार गरिने बताएका हुन् । उनले त्यस्ता देशविरुद्ध ‘भूकम्पीय’ स्तरको प्रतिशोध हुन सक्ने चेतावनी दिएका छन् ।

सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै रेजाइले छिमेकीसहित सबै देशलाई अमेरिकाको आर्थिक दबाब अभियानमा सहभागी नहुन आग्रह गरे । उनका अनुसार इरानले सुरुमा सम्बन्धित देशसँग वार्ता गरी अमेरिकाबाट दूरी कायम गर्न आग्रह गर्नेछ । त्यसबाट पनि समाधान ननिस्किए आफ्नो देशले त्यस्ता देशका हितलाई निशाना बनाउने उनले बताएका छन् ।

रेजाइको चेतावनी ट्रम्पले इरानमाथि ‘सबैभन्दा कडा आर्थिक अभियान’ सञ्चालन गर्ने घोषणा गरेको केही दिनपछि आएको हो । ट्रम्पले इरानलाई कुनै पनि प्रकारको सहयोग गर्ने देशले ठूलो आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि ट्रम्पको चेतावनी दोहोर्‍याउँदै इरानको पक्ष वा अमेरिकाको पक्षमध्ये एउटा रोज्नुपर्ने बताएका छन् । उनले इरानबाट निर्यात हुने तेलको ठूलो हिस्सा खरिद गर्ने चीनलाई समेत अमेरिकाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । प्रस्तावित नयाँ प्रतिबन्धबारे थप विवरण सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने तयारीको विरोध गरेका छन् । उनले तेस्रो देशमाथि लगाइने यस्तो प्रकारको प्रतिबन्धलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै अमेरिकाले आफ्नो अधिकार अन्य देशमाथि थोपर्न खोजेको आरोप लगाए ।

यसैबीच, लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास रोकिएका कारण क्षेत्रीय तनाव थप चर्किएको छ । इरानले होर्मुज जलडमरूमध्यमा नाकाबन्दी लगाएपछि विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एकमा जहाज आवागमन प्रभावित भएको छ ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा संयुक्त रूपमा आक्रमण सुरु गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको थियो । त्यसपछि तेल तथा मललगायत वस्तुको मूल्यमा समेत तीव्र वृद्धि भएको थियो ।

इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार शनिबार इराकी तेल ट्यांकरलाई होर्मुज हुँदै आवतजावत गर्न विशेष अनुमति दिइएको छ । यद्यपि जलडमरूमध्यको अवस्था अझै अनिश्चित रहेको बताइएको छ ।

अमेरिकी नौसैनिक नाकाबन्दी नहटेसम्म जलमार्ग बन्द रहने इरानले जनाएको छ । जहाज आवागमन व्यवस्थापनका विषयमा इरान र ओमानबीच छलफल भइरहेको भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

तनाव चर्किरहेका बेला इजिप्टले भने अमेरिका र इरानलाई कूटनीतिक वार्तामा फर्कन आग्रह गरेको छ ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलात्ती र इरानी विदेशमन्त्री अब्बास अराघ्चीबीच फोनवार्ता भएको इजिप्टको विदेश मन्त्रालयले जनाएको छ । उनीहरूले क्षेत्रीय अवस्थाका साथै तनाव कम गर्न भइरहेका प्रयासबारे छलफल गरेका थिए ।

वार्तामा ओमान र इरानबीचको संवादलाई अघि बढाउने तथा अमेरिका–इरानबीचको समझदारी कार्यान्वयन पुनः सुरु गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ । क्षेत्रीय सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने दीर्घकालीन सम्झौताका लागि कूटनीतिक बाटो पुनः खोल्नुपर्नेमा जोड दिइएको छ ।

अराघ्चीले इजिप्टका विदेशमन्त्रीलाई पछिल्ला घटनाक्रम, वार्ताको अवस्था र चुनौतीबारे इरानको धारणा जानकारी गराएका थिए ।

यसैबीच, अराघ्चीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरसँग पनि फोनवार्ता गरेका छन् । उनीहरूबीच पश्चिम एसियामा शान्ति, स्थायित्व र सुरक्षा कायम गर्ने सम्भावित उपायबारे छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *