`

ग्यास आयो,अभाव हटेन,के हो समस्या?

समिन बरुवाल ७ भदौ २०८३ १४:४६
अर्थ समाचार

काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको आयात तथा बजार आपूर्ति बढाउँदै लगे पनि उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन्। पछिल्लो समय आयात परिमाण उल्लेख्य बढे पनि बजारमा अभाव कायमै रहेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालले ५७ हजार ३३४.१ टन एलपी ग्यास आयात गरेको छ। यसको मूल्य आठ अर्ब ४६ करोड रुपैयाँ बराबर रहेको छ। एक महिनामा भएको यो आयात हालसम्मकै उच्च हो।

गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८.८९ टन ग्यास आयात भएको थियो। त्यसबापत चार अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो। यस वर्षको आयात परिमाण गत वर्षको सोही अवधिको तुलनामा २९.३७ प्रतिशत बढी हो।

नेपालमा एलपी ग्यासको औसत मासिक माग करिब ४५ हजारदेखि ५० हजार टन रहेको अधिकारीहरू बताउँछन्। बजारको मागअनुसार आपूर्ति कायम गर्न पछिल्ला महिनामा आयात बढाउँदै लगिएको तथ्यांकले देखाउँछ।

निगमले असारमा सात अर्ब ७२ करोड रुपैयाँ बराबरको ५२ हजार ५२.५१ टन ग्यास आयात गरेको थियो। जेठमा पाँच अर्ब ५२ करोड रुपैयाँ बराबरको ४७ हजार ५९८.०६ टन, वैशाखमा चार अर्ब ६१ करोड रुपैयाँ बराबरको ४४ हजार ३१३.७८ टन र चैतमा चार अर्ब १६ करोड रुपैयाँ बराबरको ४१ हजार १०८.१२ टन एलपी ग्यास आयात भएको थियो।

तर, आयात बढेको तथ्यांकसँगै बजारमा सहज आपूर्ति हुन नसकेको गुनासो पनि कायमै छ। देशका विभिन्न स्थानमा उपभोक्ताले अझै सिलिन्डरका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेको बताएका छन्।

चालु आर्थिक वर्षको पहिलो महिनामा कच्चा सोयाबिन तेल र डिजेलपछि एलपी ग्यास नेपालमा आयात हुने तेस्रो ठूलो वस्तु बनेको छ।

पछिल्ला महिनामा अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको अवरोधले पनि नेपालमा ग्यास आपूर्तिमा दबाब परेको थियो। इजरायल–इरान द्वन्द्वपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेकाले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय ढुवानी प्रभावित भएको थियो। त्यसको असर एसियाली बजार हुँदै नेपालको आपूर्ति शृंखलासम्म परेको थियो।

नेपालले एलपी ग्याससहित पेट्रोलियम पदार्थको आवश्यकता भारतबाट पूरा गर्दै आएको छ। भारत सरकारको स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी) नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने एक मात्र कम्पनी हो।

आपूर्ति संकट चर्किएपछि सरकारले गत मार्चमा ग्यास बोटलिङ कम्पनीलाई आधा भरिएका सिलिन्डरसमेत बजारमा पठाउन अनुमति दिएको थियो। नियमित आपूर्ति प्रभावित भएका बेला उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउने उद्देश्यले ल्याइएको उक्त व्यवस्थाले अभाव केही हदसम्म कम गरेको थियो।

आपूर्ति अवस्था सुधार हुन थालेपछि साउनको पहिलो सातादेखि आधा भरिएका सिलिन्डर बजारमा पठाउने व्यवस्था हटाइएको थियो। त्यसपछि पूर्ण क्षमतामा भरिएका सिलिन्डर मात्र बजारमा आउन थाले पनि माग बढ्दा अभाव पुनः चर्किएको छ।

अभाव बढेपछि सरकारले केही दिन आफ्नै संयन्त्र परिचालन गरेर एलपी ग्यास वितरणसमेत गरेको थियो। सरकारी हस्तक्षेपपछि पनि बजारमा नियमित र सहज आपूर्ति भने सुनिश्चित हुन सकेको छैन।

काठमाडौंको थलीस्थित अधिकारी स्टोर्सका सञ्चालक चिरञ्जीवी अधिकारीका अनुसार उपभोक्ताले अझै ग्यासका लागि लामो समय प्रतीक्षा गर्नुपरेको छ।

उनका अनुसार पसलमा दुई लट सिलिन्डर आएपछि मात्र नाम दर्ता गराएका सबै ग्राहकलाई ग्यास उपलब्ध गराउन सकिने अवस्था छ। बजारमा आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *