‘पाँच महिनामै बालेन सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ’
काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)नेतृत्वको सरकार लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्दै ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढेको आरोप लगाएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा ज्ञवालीले सरकारको पछिल्लो पाँच महिनाको गतिविधिले यस्तो संकेत देखाएको बताएका हुन् ।
उनका अनुसार सरकार संसद्, राष्ट्रपति संस्था, न्यायालय, राजनीतिक दल र सञ्चारमाध्यमसँग संवाद र सहकार्य गर्नेभन्दा सबैलाई किनारा लगाएर आफूखुसी अघि बढिरहेको छ ।
उनले सरकारको कार्यशैलीलाई ‘बेलगाम घोडा’सँग तुलना गर्दै निर्वाचित सरकार भए पनि त्यसले संस्थागत नियन्त्रण र सन्तुलनलाई बेवास्ता गर्न थालेको टिप्पणी गरे ।
ज्ञवालीले सरकारलाई प्रधानमन्त्री बनाउने आफ्नै राजनीतिक शक्तिसँग समेत पर्याप्त समन्वय नभएको दाबी गरे । संसद्को भूमिकालाई समेत कमजोर बनाउँदै लगिएको उनको आरोप छ ।
उनले ठूलो जनमत पाएको दम्भमा सरकारले आगामी दिनमा संविधानमै प्रतिगामी संशोधन गर्न सक्ने जोखिमसमेत औँल्याए । प्रतिनिधिसभामा संविधान निर्माणका प्रमुख शक्तिहरू कमजोर अवस्थामा रहेकाले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने राजनीतिक शक्ति पर्याप्त नभएको उनको भनाइ थियो ।
ज्ञवालीले सामाजिक सञ्जालको प्रयोगमार्फत असहमति राख्नेहरूमाथि दबाब सिर्जना भइरहेको दाबी पनि गरे । सरकारको आलोचना गर्नेहरू साइबर बुलिङ, चरित्रहत्या र विभिन्न प्रकारका दबाबको सामना गर्न बाध्य भएको उनको आरोप छ ।
यस्तो अवस्थाले समाजमा डर र मौनता बढाउँदै आलोचनात्मक आवाजलाई कमजोर बनाउने खतरा रहेको ज्ञवालीले बताए । उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारको आलोचना र असहमतिको अधिकार सुरक्षित हुनुपर्छ ।
ज्ञवालीले अहिलेको अवस्थामा वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिए ।
उनले समाजवादी आन्दोलनको मात्र नभई संविधान, लोकतन्त्र, राष्ट्रियता, खुला राजनीतिक वातावरण, जनजीविका र सामाजिक सद्भावको संरक्षणलाई समेत सहकार्यको आधार बनाउनुपर्ने बताए ।
