इमरान खानको स्वास्थ्यप्रति चिन्ता जनाउँदै २१ पूर्वकप्तानले लेखे शहबाजलाई पत्र
काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्व क्रिकेटका २१ जना पूर्वकप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन्।
पूर्वकप्तानहरूले पत्रमार्फत जेलमा रहेका इमरानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन प्रधानमन्त्री शहबाजसँग आग्रह गरेका हुन्।
‘क्रिकइन्फो’का अनुसार पत्रमा पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई अस्पताल लगेर मेडिकल बोर्डमार्फत स्वास्थ्य परीक्षण गराउन दिएको आदेश कार्यान्वयन नभएको दाबी गरिएको छ। अदालतले गठन गर्ने मेडिकल बोर्डमा इमरानका निजी चिकित्सक तथा उनकी बहिनी डा. उज्मा खानलाई समेत सहभागी गराउन निर्देशन दिएको थियो। साथै, इमरानको परिवारसँग साप्ताहिक भेटघाटको व्यवस्था पुनः सुरु गर्न पनि अदालतले आदेश दिएको उल्लेख गरिएको छ।
तर, पूर्वकप्तानहरूले अदालतको आदेशअनुसार इमरानलाई अस्पतालमा राखेर परीक्षण नगरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार इमरानलाई अस्पतालमा केही घण्टामात्र राखिएको थियो भने अदालतको आदेशअनुसार गठन गरिएको मेडिकल बोर्डको सट्टा सरकारले नियुक्त गरेको चिकित्सकीय टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो।
उक्त टोलीले इमरानलाई ‘चिकित्सकीय रूपमा स्वस्थ’ घोषणा गरेपछि उनलाई पुनः अदियाला जेल पठाइएको पूर्वकप्तानहरूको दाबी छ। उनीहरूले अदालतको आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न र इमरानको स्वास्थ्य अवस्थालाई गम्भीरतापूर्वक लिन पाकिस्तानी सरकारसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री शहबाजलाई पूर्वकप्तानहरूले पत्र लेखेको यो दोस्रो पटक हो। यसअघि गत १४ फेब्रुअरीमा १४ जना पूर्वकप्तानले इमरानको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शहबाजलाई पत्र पठाएका थिए।
त्यस समयमा इमरानको परिवारले उनको आँखामा गम्भीर समस्या देखिएको र एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको दाबी गरेको थियो। परिवारले जेलमा रहँदा उनले आवश्यक स्वास्थ्य उपचार नपाएको आरोपसमेत लगाएको थियो।
इमरान खान पाकिस्तानका पूर्वप्रधानमन्त्री मात्र नभई देशका चर्चित क्रिकेट कप्तानसमेत हुन्। उनको नेतृत्वमा पाकिस्तानले सन् १९९२ को विश्वकप क्रिकेटको उपाधि जितेको थियो। त्यसैले उनको स्वास्थ्य अवस्थालाई लिएर विश्व क्रिकेट जगतका पूर्वखेलाडीहरूले समेत चासो देखाएका हुन्।
पत्र लेख्ने २१ पूर्वकप्तान
पत्रमा हस्ताक्षर गर्ने पूर्वकप्तानहरूमा माइकल एथर्टन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रियरली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलेस्टर कुक, सुनील गावस्कर, ली जर्मन, एडम गिलक्रिस्ट, डेभिड गावर, किम ह्युजेस, नासिर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुना रणतुंगा, एन्ड्र्यु स्ट्रस, दिलीप भेङ्सरकर, स्टिभ व र जोन राइट रहेका छन्।
