भारतीय कुखुरा र चल्लाको तस्करी रोक्न माग गर्दै माइतीघरमा किसानको प्रदर्शन
काठमाडौं। भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी नियन्त्रण गर्नुपर्ने, बिचौलियाबाट हुने ठगी अन्त्य गर्नुपर्ने र स्वदेशी पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग गर्दै देशभरका कुखुरापालक किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
किसानहरूले कृषि, वन तथा वातावरण मन्त्रालयमा १२ बुँदे मागपत्र बुझाउँदै पोल्ट्री क्षेत्रका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले उत्पादनको लागत बढ्दै गए पनि बजारमा उचित मूल्य नपाउँदा किसानको लगानी जोखिममा परेको बताएका छन्।
किसानहरूले आफ्ना उत्पादनको मूल्य निर्धारणमा किसानको समेत अधिकार सुनिश्चित गर्नुपर्ने र उत्पादन लागत, जोखिम तथा लगानीलाई आधार बनाएर न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग गरेका छन्।
त्यसैगरी भारतबाट संगठित रूपमा भइरहेको कुखुरा तथा चल्लाको अवैध आयात तत्काल नियन्त्रण गर्नुपर्ने उनीहरूको माग छ। खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा भित्रिने भारतीय कुखुरा र चल्लाका कारण नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार नपाउने अवस्था आएको भन्दै उनीहरूले स्वदेशी उत्पादनलाई संरक्षण गर्न सरकारसँग आग्रह गरेका छन्।
किसानहरूले ह्याचरी व्यवसायीले तोकेको मूल्यभन्दा बढी रकम तिरेर चल्ला किन्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताएका छन्। चल्लाको मूल्य निर्धारण, गुणस्तर र आपूर्तिमा पारदर्शिता कायम गर्नुपर्ने तथा गुणस्तरहीन चल्ला बिक्री गर्ने व्यवसायीमाथि नियमित अनुगमन र कारबाहीको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ।
दाना उद्योगबाट पनि किसान ठगिने गरेको भन्दै गुणस्तरीय दाना उपलब्ध गराउनुपर्ने र दानाको गुणस्तरमा समस्या देखिएमा किसानको गुनासो तत्काल सम्बोधन गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्ने माग गरिएको छ।
किसानहरूले पोल्ट्री उत्पादन बिक्री गर्ने क्रममा तौल र मूल्यमा हुने ठगी समेत रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्। काँटा तथा तराजुमा अनियमितता गर्ने, तौल घटाउने र बिचौलियाका नाममा प्रतिकिलो १० देखि २० रुपैयाँसम्म कटौती गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।
उत्पादन खरिद गर्ने पोल्ट्री स्टोरले समेत किसानलाई मनपरी मूल्य घटाएर भुक्तानी गर्ने गरेको भन्दै यस्तो प्रवृत्तिमाथि नियमन गर्नुपर्ने किसानहरूले बताएका छन्। बिचौलियाको जालमा पारेर किसानको उत्पादनको वास्तविक मूल्यभन्दा कम रकम दिने अवस्था अन्त्य गरी किसानले पाउनुपर्ने रकम पूर्ण रूपमा प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
किसानहरूले पोल्ट्री क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको अर्को समस्या उत्पादन बढी हुँदा मूल्य अत्यधिक घट्ने अवस्थालाई समाधान गर्नुपर्ने बताएका छन्।
उत्पादन बढी भएको समयमा किसानले लागतभन्दा कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने अवस्था अन्त्य गर्न हरेक प्रदेशमा सरकारी वा सहकारी माध्यमबाट कुखुरा भण्डारण केन्द्र स्थापना गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी किसानका समस्या, गुनासा र सुझाव सुन्न छुट्टै आयोग वा प्रभावकारी संयन्त्र गठन गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
किसानले दैनिक रूपमा वास्तविक बजार मूल्यबारे जानकारी पाउने गरी पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने र बजारको माग तथा खपतको अवस्था विश्लेषण गरेर मात्र चल्ला र कुखुराको उत्पादन योजना बनाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
पोल्ट्री व्यवसायलाई व्यावसायिक र दिगो बनाउन किसानलाई आधुनिक प्रविधि, प्राविधिक सेवा तथा विज्ञ परामर्श उपलब्ध गराउने स्थायी व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
कुखुरामा देखिने विभिन्न रोगको समयमै पहिचान तथा नियन्त्रणका लागि देशका विभिन्न क्षेत्रमा गुणस्तरीय प्रयोगशाला स्थापना गर्नुपर्ने किसानहरूले बताएका छन्। रोगका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले परीक्षण तथा उपचार सेवा किसानको पहुँचमा पुर्याउनुपर्ने उनीहरूको जोड छ।
किसानहरूले भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रणदेखि उत्पादनको उचित मूल्य, चल्ला र दानाको गुणस्तर, बजार व्यवस्थापन, बिचौलियाको नियमन तथा रोग नियन्त्रणसम्मका विषयलाई एउटै नीतिगत ढाँचामा सम्बोधन गर्नुपर्ने बताएका छन्।
उनीहरूको भनाइमा पोल्ट्री व्यवसायमा किसानको ठूलो लगानी रहे पनि बजार व्यवस्थापन र सरकारी नियमन कमजोर हुँदा जोखिमको भार भने किसानले मात्रै बोक्नुपरेको छ।
त्यसैले तत्कालीन समस्या समाधानसँगै उत्पादनदेखि बजारसम्मको सम्पूर्ण पोल्ट्री मूल्य शृङ्खला व्यवस्थित गर्ने नीति ल्याउनुपर्ने किसानहरूको माग छ। सरकारबाट ठोस कदम नचालिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।
















