अर्थमन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल गर्दै
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन्। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले सञ्चालन गरिरहेको संवाद शृङ्खअन्तर्गत स्टार्टअप उद्यमीसँग छलफल गर्न लागिएको हो।
अर्थ मन्त्रालयको सभाहलमा हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रको वर्तमान अवस्था, सरकारले बजेटमार्फत अघि सारेका कार्यक्रम तथा ती कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे छलफल हुने जनाइएको छ।
कार्यक्रममा सरकारले सूचना प्रविधि क्षेत्रको विकास र प्रवर्द्धनका लागि लिएका नीतिगत व्यवस्थाबारे अर्थमन्त्री वाग्लेले आफ्नो धारणा राख्नेछन्। बजेटमा समेटिएका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहजीकरण, निजी क्षेत्रका समस्या तथा युवा उद्यमीले सामना गरिरहेका व्यावहारिक कठिनाइबारे पनि छलफल हुने बताइएको छ।
त्यस्तै, सहभागी स्टार्टअप उद्यमीहरूले सूचना प्रविधिको क्षेत्रमा आफूहरूले गरिरहेका काम, भविष्यका योजना तथा व्यवसाय विस्तारका क्रममा भोगिरहेका समस्या सरकारसमक्ष राख्नेछन्। उनीहरूले कानुनी, नीतिगत र प्रशासनिक तहमा आवश्यक सुधार तथा सहजीकरणका विषयमा समेत सुझाव दिने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार छलफललाई सरकार र सूचना प्रविधि क्षेत्रका युवा उद्यमीबीच प्रत्यक्ष संवादको माध्यमका रूपमा लिइएको छ। सरकारले बजेटमा घोषणा गरेका कार्यक्रमको वास्तविक प्रभाव बुझ्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या पहिचान गर्न यस्तो संवाद उपयोगी हुने मन्त्रालयको अपेक्षा छ।
सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, उद्यमशीलता विकास र विदेशी मुद्रा आर्जनको सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिँदै आएको छ। पछिल्लो समय नेपालमा सूचना प्रविधिमा आधारित नयाँ व्यवसाय तथा स्टार्टअपको संख्या बढ्दै गए पनि लगानी, बजार विस्तार, दक्ष जनशक्ति, कानुनी प्रक्रिया र सरकारी सहजीकरणका विषयमा उद्यमीहरूले विभिन्न चुनौती सामना गर्दै आएका छन्।
आजको छलफलमा यिनै विषयमा केन्द्रित भएर सरकार र स्टार्टअप प्रतिनिधिबीच प्रत्यक्ष अन्तरक्रिया हुने जनाइएको छ। उद्यमीका सुझाव तथा गुनासोलाई आगामी दिनमा बजेट कार्यान्वयन र नीतिगत निर्णयमा समेट्न सकिने अपेक्षा गरिएको छ।
