बाढीको असर भारतमा पुग्ने त्रास, बिहार-यूपीमा हाई अलर्ट
काठमाडौं। नेपालमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि भारतका बिहार र उत्तर प्रदेश राज्यले तल्लो तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै निगरानी र पूर्वतयारी बढाएका छन् ।
रसुवामा बुधबार तिब्बततर्फबाट आएको अचानकको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीका कारण हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ भने कैयौँ मानिस अझै सम्पर्कविहीन छन् । यसमा भारतीय नागरिकसमेत रहेको बताइएको छ ।
नेपालतर्फको बाढीको प्रभाव गण्डक, नारायणी तथा अन्य नदीको बहावमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतका सीमावर्ती क्षेत्रमा सुरक्षा तथा विपद् व्यवस्थापन संयन्त्रलाई सतर्क अवस्थामा राखिएको हो ।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले अवस्थाको निरन्तर निगरानीका लागि उच्चस्तरीय संयन्त्र परिचालन गरिएको बताएका छन् । उनले मुख्यसचिव र प्रहरी महानिरीक्षकले अवस्थाको अनुगमन गरिरहेको तथा आफूले पनि निरन्तर बैठकमार्फत जानकारी लिइरहेको बताए ।
आवश्यकता परे आफू स्वयं प्रभावित क्षेत्रमा पुग्ने मुख्यमन्त्री चौधरीको भनाइ छ । बिहारका स्वास्थ्यमन्त्री निशान्त कुमारले पनि स्वास्थ्य विभागलाई उच्च सतर्क अवस्थामा राखिएको र आवश्यक सहायता उपलब्ध गराउन तयारी भइरहेको जानकारी दिएका छन् ।
बिहारको विपद् व्यवस्थापन विभागले नदी किनारका बासिन्दालाई सावधानी अपनाउन तथा नदीको आसपास नजान आग्रह गरेको छ । साथै, अफवाहको पछि नलागी सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना मात्र पालना गर्न अनुरोध गरिएको छ ।
नेपालबाट बगेर आउने नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उत्तर प्रदेश सरकारले पनि सीमावर्ती जिल्लामा सतर्कता बढाएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले महाराजगञ्ज र कुशीनगर जिल्लालाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन् । गण्डक र नारायणी नदीमा पानीको सतह बढ्न सक्ने भएकाले स्थानीय प्रशासनलाई आवश्यक तयारी पूरा गर्न तथा सम्भावित जोखिमप्रति सचेत रहन निर्देशन दिइएको उनले बताएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रबाट २९१ विदेशी र ९३ नेपाली गरी ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन विदेशीमध्ये १०५ जना भारतीय नागरिक रहेको बताइएको छ ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा समेत सावधानी र निगरानी बढाइएको हो ।
