राष्ट्रिय विपत्तिमा सरकारसँग सबै दल छन् : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको सामना गर्न सरकारलाई सबै राजनीतिक दलको साथ रहेको बताएका छन्।
बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपत्तिका बेला राजनीतिक दलहरूबीचको मतभेदभन्दा नागरिकको उद्धार र राहत महत्वपूर्ण हुने बताए। नेपालमा ठूला विपत्तिका समयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको उनको भनाइ थियो।
उनले बाढी प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत पुर्याउन सरकारका संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई पनि परिचालन गर्नुपर्ने बताए।
सर्वदलीय बैठकमा गृहमन्त्रीले राजनीतिक दलका कार्यकर्तालाई समेत उद्धार तथा राहतमा खटिन आग्रह गरेको जानकारी दिँदै थापाले कांग्रेसका कार्यकर्ता सडक सफा गर्नेदेखि खोजी र उद्धारसम्मका काममा परिचालन हुन तयार रहेको बताए।
‘सरकारको आग्रहअनुसार नेपाली कांग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्छ,’ थापाले भने।
उनका अनुसार ठूलो विपत्तिमा सरकारसँग रहेका नियमित स्रोतसाधन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्र, राजनीतिक दल र सामाजिक संस्थालाई समेत राज्यकै शक्तिका रूपमा परिचालन गर्न आवश्यक छ।
थापाले गैरसरकारी क्षेत्रबाट प्राप्त सहयोगलाई पनि समन्वयात्मक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। सबै सहयोग एकद्वार प्रणालीमार्फत प्रभावितसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी कोषमा आवश्यक आर्थिक सहयोग गर्ने जानकारीसमेत थापाले दिएका छन्।
