चीनका प्रधानमन्त्री ली छियाङ बाढी प्रभावित तिब्बत पुगे
काठमाडौं। चीनका प्रधानमन्त्री ली छियाङ बाढीपहिरोबाट प्रभावित तिब्बतको केरुङस्थित ग्यिरोङ क्षेत्रमा पुगेका छन्।
बुधबार आएको विनाशकारी बाढीपहिरोबाट भएको क्षति, उद्धारको अवस्था र प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिन उनी बिहीबार घटनास्थल पुगेका हुन्।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार प्रधानमन्त्री लीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै उद्धार तथा राहतमा खटिएका अधिकारी र सुरक्षाकर्मीसँग आवश्यक जानकारी लिएका छन्। उनले बाढीपहिरोका कारण प्रभावित स्थानीयको अवस्थाबारे समेत जानकारी लिने कार्यक्रम रहेको जनाइएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यसमेत रहेका लीलाई राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको नेतृत्व गर्न जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री लीसँगै सम्बन्धित सरकारी निकायका वरिष्ठ अधिकारीहरू पनि तिब्बत पुगेका छन्। टोलीले विपद्बाट भएको क्षतिको मूल्याङ्कन तथा उद्धार कार्यको स्थलगत अनुगमन गर्नेछ।
यसअघि बुधबार नै चीनका उपप्रधानमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य झाङ गुओछिङ तिब्बतको ग्यिरोङ काउन्टी पुगेका थिए। उनले केरुङ क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्दै उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए।
बुधबार बिहानै राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई प्राथमिकता दिन, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न तथा घाइतेको उपचारमा कुनै ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
बाढीपहिरोका कारण चीनको शिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ तथा नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुगेको छ। केरुङ बन्दरगाह आसपासका सडक, विद्युत् तथा सञ्चार संरचनामा समेत क्षति पुगेपछि आवागमन र सम्पर्क प्रभावित भएको बताइएको छ।
चिनियाँ पक्षका अनुसार केरुङ क्षेत्रमा तीन जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। बाढी र पहिरोका कारण अस्थिर बनेको भूभाग तथा पहाडी क्षेत्रमा रहेको कठिन भौगोलिक अवस्थाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। चिनियाँ सुरक्षाकर्मी तथा उद्धारकर्मीले खोजी कुकुर, ड्रोन र आवश्यक उपकरणको प्रयोग गरी बेपत्ताको खोजी गरिरहेका छन्।
यसैबीच, नेपालतर्फ करिब एक सय चिनियाँ नागरिक अझै सम्पर्कविहीन रहेको चीनको विदेश मन्त्रालयले जनाएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले नेपालमा रहेका चिनियाँ नागरिकको अवस्थाबारे नेपाली पक्षसँग समन्वय भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार नेपालस्थित चिनियाँ दूतावासले नेपाली सम्बन्धित निकायसँग सहकार्य गर्दै बेपत्ता चिनियाँ नागरिकको विवरण यकिन गर्ने, खोजी गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने काम अघि बढाइरहेको छ।
नेपालतर्फ रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, रसुवागढी तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीको प्रभाव त्रिशूली र नारायणी नदी हुँदै अन्य जिल्लासम्म पुगेको छ। नेपालमा समेत ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने सुरक्षाकर्मी, स्थानीय बासिन्दा, मजदुर तथा विदेशी नागरिकसमेत बेपत्ता रहेको विवरण सार्वजनिक भइरहेका छन्।
बाढीपहिरोले नेपाल र चीनबीचको सीमा क्षेत्र जोड्ने सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि दुवैतर्फ आवागमन प्रभावित भएको छ। सीमावर्ती क्षेत्रमा उद्धार र राहत सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ।
विपद्को अवस्थालाई ध्यानमा राख्दै चीनले आफ्नोतर्फ उद्धार तथा राहत संयन्त्र सक्रिय बनाएको छ। नेपालस्थित चिनियाँ दूतावासले पनि नेपाली अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर नेपालमा रहेका चिनियाँ नागरिकको खोजी तथा उद्धारमा सहजीकरण गरिरहेको जनाएको छ।
दुवै देशमा एकै समयमा ठूलो प्राकृतिक विपत्ति देखिएकाले सीमा क्षेत्रमा सूचना आदानप्रदान, उद्धारमा समन्वय तथा प्रभावित नागरिकको सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखिएको छ।
खोजी तथा उद्धार अभियान जारी रहेकाले मृतक, बेपत्ता र प्रभावितको विवरण थप परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।
